काठमाडौं । मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकका एक युवक पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का २९ वर्षीय सुजन भनिने पासाङ तमाङलाई बुधबार बेलुकी पक्राउ गरी आज सार्वजनिक गरेको हो । वीरगंज महानगरपालिका–१६ शंकरराचार्य गेटस्थित सडकबाट एक युवतीलाई भारतर्फ लैजाँदै गरेको अवस्थामा तमाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले ती युवतीलाई वीरगन्जस्थित कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको छ ।
तमाङमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।