Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्वास्थ्य मन्त्रीद्वारा जिपीमा सञ्चालिन डायलसिस सेन्टरको उद्घाटन

स्वास्थ्य मन्त्रीद्वारा जिपीमा सञ्चालिन डायलसिस सेन्टरको उद्घाटन

इच्छाकामना न्युज

१८, बैशाख २०८२
स्वास्थ्य मन्त्रीद्वारा जिपीमा सञ्चालिन डायलसिस सेन्टरको उद्घाटन
images

तनहुँ, वैशाख १८ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामीलाई डायलासिसका लागि टाढा धाउनु पर्ने  तथा पालो कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबारबाट डायलासिस सञ्चालन गरिएकोले बाध्यताको अन्त्य भएको हो ।

images
images

केन्द्रमा निर्माण गरिएको डायलसिस सेन्टरको आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुभयो । भौतिक पूर्वाधार शुक्लागण्डकी नगरपालिका, लायन्स क्लबको सहयोगमा डायलाइसिस उपकरण र जनशक्ति जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले व्यवस्थापन गरी सञ्चालन गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो  ।

डा. श्रेष्ठका अनुसार केन्द्रमा सात वटा डायलासिस मेसिन जडान गरिएको छ । सेवा लिनको लागि ३० जनालाले नाम दर्ता गरेको उहाँले जानकारी दिनुभयो । डायलायसिस सेन्टर निर्माणमा शुक्लागण्डकी नगरपालिका लगायत अस्पताल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सहयोग गरेको छ ।

जीपी अस्तालमा यस क्षेत्रमा सक्रिय विभिन्न सामाजिक संघ संस्थाहरु लायन्स क्लव अफ खैरेनीटार, म्याग्दे र लायन्सक्लव अफ शुक्लागण्डकी सिस्टर्सको विशेष सहयोग रहेको छ । डायलासिस सेन्टर स्थापना भएपछि शुक्लागण्डकी सहित भिमाद, म्याग्दे, ऋषिङ, घिरिङ र स्याङजाको हरिनासका विरामीले लाभ लिन सक्ने लायन्स डायलसिस सेन्टर प्रोजेक्टका संयोजक सुजित हिराचनले जानकारी दिनुभयो ।

लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ)ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि सहयोग गरेको केन्द्रले जनाएको छ । उक्त केन्द्रमा डायलासिस सेन्टर सञ्चालन गर्न लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए ।

जिल्लामा दमौली अस्पताल र आँबुखैरेनी अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला खराब भएका बिरामीलाई सास्ती भइरहेकाले क्लबले सो अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता हटाउन क्लबले डायलासिस सेन्टर स्थापना गर्न डायलासिस मेसिन सहयोग गर्ने निर्णय भएको लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले जानकारी दिनुभयो ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा उपलब्ध भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका,ऋषिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा, नवलपरासीलगायतका बिरामी सेवा लिन आउने केन्द्रले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १८, २०८२ बिहिवार - १८:१३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology