Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनमा मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

चितवनमा मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

images

इच्छाकामना न्युज

१८, बैशाख २०८२
चितवनमा मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
images

१८ वैशाख, चितवन । दोस्रो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा बिहीबारदेखि सुरु भएको छ ।

‘समुदायका लागि समुदायसँग मानसिक स्वास्थ्यमा सहकार्य’ भन्ने नाराका साथ तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल, अमेरिका, नर्वे, भारत लगायतका देशका मानसिक स्वास्थ्यको क्षेत्रमा कार्य गरिरहेका विज्ञहरू सहभागी छन् ।

आयोजक चितवन मेडिकल कलेजका मानसिक रोग विशेषज्ञ डा. खगेन्द्र काफ्लेका अनुसार सम्मेलनमा ६० भन्दा बढी प्रस्तुति तथा शोधपत्रहरू प्रस्तुत गरिने छन् ।

सम्मेलनमा मनोरोग विशेषज्ञ, मनोविद्, मनोसामाजिक कार्यकर्ता, स्वास्थ्य क्षेत्रका विज्ञ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, सामाजिक संघसंस्था र स्वास्थ्य शिक्षाका विद्यार्थी सहभागी छन् ।

सम्मेलनमा आएका विषयवस्तुले सरकारलाई नीतिगत परिवर्तनका लागि सहयोग गर्नुका साथै, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्नेहरूलाई नयाँ ज्ञानको आदानप्रदान हुने अपेक्षा गरिएको छ ।

आयोजक समिति संयोजक डा. श्रीधर पौडेलले मानसिक स्वास्थ्यका विषयमा नेपाल र विभिन्न देशमा भइरहेका अध्ययन तथा कामका सिकाइलाई एकै थलोमा भेला भएर छलफल गर्ने र ति सिकाइलाई नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा बन्ने नीति तथा कार्यक्रमहरुको लागि सहयोगी हुने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको बताए ।

उनका अनुसार मानसिक स्वास्थ्यको अवस्था समुदाय स्तरमा कस्तो छ भनेर जान्नका लागि सम्मेलन महत्त्वपूर्ण हुनेछ । मानसिक स्वास्थ्यको उपचार गर्दै आएका चिकित्सक तथा स्वास्थयकर्मीले फिल्डमा भेटेका अनुभव पनि सम्मेलनमा साटासाट गर्नेछन् ।

सम्मेलनको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजधानी मेडिकल सिटी चितवनमा सम्मेलन हुनु सुखद पक्ष भएको बताइन् ।
उनले देशको अवस्था, समयको चाप, बढेको महत्त्वकाङ्‍क्षा आदी कारणले हरेक घरघरमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिन थालेको भन्दै यसलाई गम्भीर चुनौतीका रुपमा लिनुपर्ने बताइन् ।

उनले मेडिकल सिटीको उपमा पाएको भरतपुरमा मानसिक रोगको उपचार सम्बन्धी अलग्गै अस्पतालसमेत जरुरत रहेको बताइन् ।

उनले महानगरकातर्फबाट मानसिक स्वास्थ्य सेवा उपचारको क्षेत्रमा काम गर्न र सहयोग गर्न सदैव तयार रहेको बताइन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले सीमित साधन र स्रोतका भरमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने बाध्यता रहेको चर्चा गर्दै समुदायस्तरमा अझै पनि मानसिक रोगको उपचारको पहुँच पुग्न नसकेको बताए ।

images
प्रकाशित मिति :बैशाख १८, २०८२ बिहिवार - १८:१०:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology