भरतपुर । सरकारले भरतपुर अस्पतालमा थप छवटा नयाँ सेवा सुरू गर्न लागेको छ । वैशाख महिनाभित्रै छवटा नयाँ सेवाको शुभारम्भ गर्ने गरी काम अगाडि बढाइएको छ । अस्पतालका अनुसार क्याथ ल्याब, जलन वार्ड, सिमुल्टेसन ल्याब, इनफर्टिलिटी क्लिनिक, ल्याक्टेसन म्यानेजमेन्ट युनिट र क्याडाभर ल्याब सञ्चालन हुन लागेको हो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले वैशाख अन्तिम साता नयाँ स्वास्थ्यसेवाहरुको शुभारम्भ गरिने बताए । नयाँ सेवाको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भरतपुर अस्पतालसहित देशभरका विभिन्न आठवटा संघीय अस्पतालमा १५ वटा नयाँ सेवा वैशाखभित्रै सुरू गर्न लागिएको छ ।
‘क्याथ ल्याब हामीले १५ गतेभित्रै तयार गरिसक्छौँ । अरु सेवाहरुको पनि काम भइरहेको छ । वैशाख अन्तिम सातातिर मन्त्रीज्यूले छवटै सेवाको शुभारम्भ गर्ने कुरा छ’, पौडेलले भने । हृदयघात, मुटुको रगतका नसासम्बन्धी समस्या, मुटुको भल्भसम्बन्धी समस्या, जन्मजात मुटुरोगलगायतका समस्या भएका बिरामीलाई क्याथ ल्याबबाट उपचार सेवा दिन सकिन्छ । मुटुमा रक्तनलीहरु थुनिँदा मानिसमा हृदयघात हुनेगर्छ । मुटुको शल्यक्रिया ओपनहार्ट सर्जरी र क्लोजहार्ट सर्जरी गरी दुई तरिकाले गर्न सकिन्छ ।
सरकारी अस्पतालमा क्याथ ल्याब नहुँदा बिरामीलाई मेडिकल कलेज पठाउनुपर्ने बाध्यता छ । सरकार र अस्पतालको गरी कुल साढे ११ करोड रूपैयाँमा यो सेवा सुरू गर्न लागिएको पौडेलले जानकारी दिए । थप हुन लागेका अन्य सेवाहरुमा पनि संघीय सरकार र अस्पतालको लागत साझेदारी रहेको उनले बताए ।
अस्पतालमा आइसियूसहितको सात बेडको जलन वार्डको शुभारम्भ हुने उनले बताए । ‘हामीसँग अहिले तीन बेडको जलन वार्ड छ । त्यसलाई आइसियूसहितको सात बेडको वार्ड बनाउँदै छौँ’, उनले भने । त्यस्तै, निःसन्तानपनको उपचारका लागि इनफर्टिलिटी क्लिनिक सञ्चालन गर्न लागिएको उनले बताए । यहाँ कृत्रिम गर्भाधानबाट निःसन्तापनको उपचार गरिनेछ । क्लिनिकबाट टेस्टट्युबबाहेकका सेवा पाउन सकिनेछ ।
सिमुल्टेसन ल्याबमा नयाँ चिकित्सकहरुलाई मानिसको डमीमा अपरेसन गर्न सिकाइन्छ । मानिसको आकार दिएर बनाइएको डमीमा अपरेसन गर्न सिकाउने ठाउँलाई सिमुल्टेसन ल्याब भनिन्छ । बिरामीको अपरेसन थाल्नुअघि यो ल्याबमा चिकित्सकलाई अभ्यास गराइने उनले बताए ।
स्तनपानलाई प्रवर्द्धन गर्न ल्याक्टेसन म्यानेजमेन्ट युनिट स्थापना गरिँदै छ । स्तनपान गराउने महिलाको दूध यहाँ भण्डारण गर्न पनि सकिने पौडेल बताउँछन् । शल्यचिकित्सा प्रशिक्षणको लागि क्याडाभर ल्याब स्थापना गर्न लागिएको हो । यस ल्याबमा चिकित्सा क्षेत्रका विद्यार्थी, सर्जनलगायतले मानवको मृत शरीरमा अनुसन्धान गर्न र शल्यक्रिया सीपको विकास गर्न सक्नेछन् ।
क्याथ ल्याबबाहेक अन्य नयाँ सेवाहरुका लागि भएकै कर्मचारीहरुलाई परिचालन गरिने मेसु पौडेलले बताए । ‘क्याथ ल्याबका लागि चार जना चिकित्सकसहित २२ जना कर्मचारीलाई तालिम दिएर तयार गरिसकेका छौँ । अन्य सेवाका लागि भने भएको जनशक्तिलाई मोबिलाइज गर्ने हो, अरु उपाय नै छैन’, उनले भने, ‘बिमा बोर्डले पैसा दिँदैन, सरकारले दिएको छैन । नयाँ जनशक्ति थप गर्न सक्ने अवस्था नै छैन ।’