पदमपुर । बुद्धिमान श्रेष्ठ बिजुलीसम्बन्धी काम गर्छन् । उनमा विभिन्न संघसंस्थामा काम गर्ने रूचि छ । तर, आफ्ना कुरा निर्धक्क भएर राख्न नसक्दा संस्थाहरुमा चाहेर पनि अगाडि सर्ने आँट आउँदैन । साथीभाइबीच बोल्न समस्या नभए पनि समूहमा प्रसङ्ग मिलाएर बोल्न भने आँट नै नहुँदा आफू पछि परेको महसुस गर्थे ।
तर, कालिका नगरपालिकाले पाँच दिनको क्षमता विकास तालिम आयोजना गरेपछि उनले बोल्ने कलाबारे ज्ञान लिएका छन् । तालिमको पर्खाइमा रहेका बुद्धिमान वडा कार्यालयबाटै तालिम लिन पाइने भएपछि आफ्नो कामका लागि समय व्यवस्थापन गरेर तालिममा सहभागी भए । पाँच दिन नै सहभागी भएर प्रशिक्षणको प्रमाणपत्र पाएपछि उनको मनमा रहेको डर दूर भएको छ ।
‘यति भएपछि त अब आफ्नो कुरा समूहमा राख्न पनि समस्या नहुने पक्का भो’, कालिका नगरपालिका वडा नम्बर–४ निवासी श्रेष्ठ भन्छन्, ‘सबैभन्दा समस्या माइक समातेर बोल्नेमै थियो । पाँच दिनसम्म माइकसँग नजिक हुने मौका पाएपछि डर हटेको छ ।’
सोही वडाकी राधा थापा पनि स्थानीय सहकारी संस्थामा सचिव पदमा छिन् । काम गर्ने रहर भए पनि बोल्ने विषयमा पछि पर्दा सचिव पदबाट राजीनामा दिने सोचमा थिइन् । तर, स्थानीय सरकारले तालिमको आयोजना गरेपछि सोच परिवर्तन भएको उनी बताउँछिन् । ‘संस्थामा सबैले मलाई सचिव बनाइदिए, तर कार्यक्रम सञ्चालन गर्ने, निर्णय पुस्तिका लेख्नेजस्ता विषयमा मेसो नहुँदा आफैँलाई नमीठो लाग्थ्यो’, उनी भन्छिन्, ‘पाँच दिनसम्म तालिम पाएपछि अब त राजीनामा दिनुपर्दैन भन्ने सोचमा पुगेकी छु ।’
पाँच दिनसम्मको तालिमबाट सकारात्मक ऊर्जा प्राप्त गर्नुका साथै माइकमा बोल्ने कलाको राम्रो विकास भएको उनको भनाइ छ । ‘माइक समातेर आफ्नो कुरा समूहमा राख्नुपर्दा सजाय नै दिएजस्तो लाग्थ्यो’, उनले भनिन्, ‘आफूले भन्न खोजेको कुरा माइक समातेपछि सबै बिर्सने समस्यालाई टाढा बनाउन सफल भएको छ । अब सिलसिला मिलाएर ढुक्कसँग बोल्न समस्या नहोला ।’
गरिमा श्रेष्ठले भने दोस्रोपटक तालिम लिइन् । गत वर्ष तीन दिनको तालिम लिए पनि समय थोरै भएकोले सिक्नुपर्नेजति सिक्न नपाउँदा यसवर्षको तालिममा समेत सहभागी भएपछि कार्यक्रम नै सञ्चालन गर्न सक्ने गरी तालिम लिएको उनी बताउँछिन् । ‘पोहोर साल पनि तालिम त लिएको हो, तर त्यो तालिम अधुरो भयो’, उनी भन्छिन्, ‘यसपालि पनि तालिम पाएपछि भने अब परिआउँदा कार्यक्रम नै सञ्चालन गर्न सक्छु भन्ने हिम्मत जुटेको छ ।’
बुद्धिमान, राधा र गरिमाजस्तै यसवर्ष कालिका नगरपालिका वडा नं–४ ले आयोजना गरेको क्षमता विकास तालिममा करिब ४० जनाले अवसर लिएका छन् । वडावासीलाई बोलीमा सक्षम बनाउने उद्देश्यका साथ तालिम आयोजना गर्दै आएको वडा नं–४ का अध्यक्ष मकरमान श्रेष्ठले बताए । ‘विशेषगरी, महिला दिदीबहिनीहरुबाट बढी माग हुने तालिम नै यही हो । त्यसैले, स्थानीयको मागअनुसारको कार्यक्रम गर्न वडा कार्यालय तयार भएको हो’, उनले भने, ‘यसलाई वडाले वार्षिक कार्यक्रम तालिका नै बनाएर काम गरिरहेको छ ।’
नगरपालिकाले पनि ‘समृद्ध नगरका लागि समृद्ध जनता’ आवश्यक रहेको भन्दै सबै वडामा तालिम दिने बताएको छ । वर्षमा एकपटक प्रत्येक वडामा तालिम दिने गरी तयारी भइरहेको नगरप्रमुख विनोद रेग्मी बताउँछन् । ‘समृद्ध नगर निर्माणका लागि जनतालाई पनि समृद्ध बनाउन आवश्यक छ’, उनले भने, ‘सोही योजनाअनुसार केही वडामा तालिम भइसकेका छन्, बाँकी वडाहरुमा पनि तालिम दिँदै छौँ ।’
त्यसबाहेक, आवश्यकताअनुसारका सीप विकासमा समेत तालिम दिँदै आएको उनले बताए । पालिकाभित्र विकास निर्माणसँगै स्थानीयलाई सीप विकासमार्फत सक्षम बनाउन स्थानीय सरकारले पहल गर्दै आएको उनको भनाइ छ ।