भरतपुर । कम्प्युटर व्यवसायीहरुको छाता संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ चितवनले चितवनमा पहिलोपटक ‘क्यान बिटुसी सम्मिट चितवन–२०८१’ आयोजना गर्दैछ । आयातकर्ता र अधिकृत बिक्रेता र खुद्रा बिक्रेताहरुका बीचमा सम्बन्ध विस्तार गर्नको लागि उक्त कार्यक्रम आयोजना गर्न लागेको महासंघ चितवनका अध्यक्ष विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।
‘चितवनको समृद्धि, सूचना र प्रविधि’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्न लागेको उनले बताए । शुक्रबार (आज) र शनिबार (भोलि) हुने कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणलाई नविनतम् प्रविधि, सफ्टवयर र सेवाहरुका बारेमा जानकारी प्रदान गर्ने लक्ष्य राखिएको अध्यक्ष लामिछानेले जानकारी दिए ।
चितवन र आसपासका सूचना प्रविधिसम्बन्धी क्षेत्रमा कार्यरत व्यवसायीबीच सम्पर्क र सम्बन्ध स्थापित गराउनको लागि पनि कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ । दुवै दिन सूचना प्रविधिसम्बन्धी प्रदर्शनी तथा सेमिनार हुने आयोजकले जनाएको छ ।
सूचना र प्रविधिको विकास र विस्तारले नेपालको आर्थिक उत्पादनका क्षेत्रसमेत फराकिलो बन्दै जाने उनले दाबी गरे । नेपाली युवाशक्ति विदेश पलायन हुँदै आएको परिवेशमा यस्ता कार्यक्रमले सक्षम तथा उर्जाशील युवाहरुलाई देशमै बस्ने र नयाँ विकल्प खोज्ने वातावरण सिर्जना हुने महासंघले जनाएको छ ।
भरतपुरस्थित चितवन गार्डेन रिसोर्ट (सिजिआर)मा हुने कार्यक्रममा सूचना प्रविधिसम्बन्धी अध्ययन गर्न चाहने विद्यार्थीलाई पनि आवश्यक परामर्श पाउन सकिने आयोजकले जनाएको छ । शुक्रबार आयातकर्ता र आधिकारिक बिक्रेता तथा खुद्रा बिक्रेताबीच सम्बन्धको लागि (बिटुसी) हुने छ भने शनिबार आयातकर्ता र डिलरबीचको (बिटुबी) कार्यक्रम हुने छ ।
चितवनमा सूचना प्रविधिको क्षेत्रमा काम गर्नेको सङ्ख्या एकीन छैन । तर, महासंघको तथ्याङ्कानुसार संस्थामा २१० जना आवद्ध छन् । त्यसबाहेक करिब २५० भन्दा बढी युवाले स्वतन्त्ररुपमा काम गर्दै आएको अनुमान गरिएको छ । महासंघले सूचना प्रविधिको क्षेत्रलाई थप सशक्त बनाउनको लागि क्यान् इन्फोटेक (सूचना प्रविधि) मेला आयोजना गर्दै आएको छ । यसपटक भने अलि फरक कार्यक्रम गर्न खोजिएको आयोजकले जनाएको छ ।