तनहुँ । जिल्लाको व्यास नगरपालिका–७ सत्रसय फाँटका कृषक मुक्तिकुमार गोशली यतिबेला चैते धान रोप्नमै व्यस्त छन् । ३ रोपनी खेतमा चैते धान रोप्नका लागि उनले गाउँकै ६ जना कृषकलाई मेलोमा बोलाएका छन् ।
बिहानदेखि बेलुकासम्म खेतमै धान रोप्दै समय बित्ने उनले बताए । ‘कतै गोरु र कतै ट्र्याक्टर लगाएर धान रोपेका छौं,’ उनले भने, ‘यस वर्ष पानी नपर्दा समस्या परेको छ, समयमै पानी परेको भए पहिले नै धान रोपेर सक्ने थियौं ।’
यस फाँटमा साँढे ६ सय रोपनी क्षेत्रफलमा चैते धान हुँदै गरेको बताउँदै उनले भने, ‘रिस्ती कृषक समूहका सबै कृषक मिलेर रोपाइँ गरेका छौं । कुलोको पानी आलोपालो गर्दै धान रोप्न परेकाले ढिला भइरहेको छ ।’
गत वर्ष समयमै मल नपाउँदा उत्पादन राम्रो नभएको व्यास–११ रानीगाउँका मानबहादुर दरै बताउँछन् । ‘समयमा पानी पर्दैन, आवश्यक परेको बेला मल पाइँदैन । बल्लतल्ल फलेको धान काट्ने बेला वर्षाले बिगारिदिन्छ,’ उनले भने, ‘यी सबै सोचेर खेती नै नगरौं भने पनि भोलिका दिनमा के खाने ?’
जिल्लाका ठूला फाँट सत्रसय, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, म्याग्दे, तनहुँसुर, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाँट लगायतका स्थानमा रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र तनहुँका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी किरण नेपालीले बताए । उनले भने, ‘हालसम्म ७५ प्रतिशत चैते धान रोपाइँ सम्पन्न भएको छ ।’
अनका अनुसार गत वर्ष १ हजार ८०२ हेक्टर जमिनमा चैते धान खेती गरिएकामा ८ हजार ७०४ मेट्रिक टन उत्पादन भएको थियो । यसैगरी २०७९/८० मा २ हजार ४७० हेक्टर जमिनमा खेती गरिएकामा ११ हजार १८३ मेट्रिकटन धान उत्पादन भएको थियो ।