गोरखा । जिल्लामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–३ घैरुङका बिशाल बसेल र भीमसेन थापा गाउँपालिका–१ घर भई हाल गोरखा सदरमुकाम बस्ने नरेश बराम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रवार दिउँसो गोरखा सदरमुकामको घ्याम्पेशाल बसपार्कमा बसेललाई शंकास्पद अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिइएको थियो । ‘नियन्त्रणमा लिएर शरिर खानतलासी गर्दा उनको साथमा डाइजेपाम २ एम्पुल, फेनारगन २, नुफिन १ र आइपिपिएल १ एम्पुल भेट्यौ,’ प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले भने, ‘सोधपुछ गर्दा उक्त लागूऔषध नरेश बरामसँग खरिद गरेको भन्ने खुल्न आएपछि बरामलाई पनि पक्राउ गरेका हौ ।’
बरामको डेराबाट आइपिपिएल २१, नुफिन ४६, डाइजेपाम ६७ र फेनारगन ६७ गरी जम्मा २०१ एम्पुल फेला पारेर बरामद गरिएको उनले बताए । ‘हामी खानतलासीका लागी बरामको डेरामा पुग्दा उनी त्यहाँ थिएनन्, फरार भइसकेका रहेछन्,’ प्रहरी निरीक्षक शर्माले भने, ‘आइतबार भने उनी सम्पर्कमा आए र हामीले नियन्त्रण लियौ ।’ पक्राउ परेका दुवै विरुद्ध आइतबार लागू औषध नियन्त्रण सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।