चैत ३ गते/हेटौंडा । वन डढेलो सप्ताहको तेस्रो दिन आज (आईतबार) हेटौंडा १८ हर्नामाडीमा सचेतना र्याली गरिएको छ । डिभिजन वन कार्यालय मकवानपुरको आयोजना तथा हर्नामाडी सव डिभिजन वन कार्यालयको समन्वयमा हर्नामाडीका तीन वटा सामुदायिक वन समूहका उपभोक्ताहरुको उपस्थितीमा र्याली गरिएको हो ।
हर्नामाडीस्थित एक्लेखेतमा रहेको पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको प्राङ्गणबाट बिहान सुरु भएको ¥याली फुर्केचौर, ठूलोदमार चोक हुँदै रामधुनीमा गएर सभामा परिणत भएको थियो ।
सभामा बोल्दै हर्नामाडी सव डिभिजन वन कार्यालयका प्रमुख प्रदिप अर्यालले वन नभए मानव अस्तित्व नै समाप्त हुनेहुँदा वन संरक्षण अति आवश्यक रहेको बताउनुभयो । चैत, बैशाख र जेठ महिना डढेलोको उच्च जोखिममा रहेकाले डढेलो नियन्त्रणमा सबै लाग्नुपर्ने औल्याउनुभयो ।
यसैगरी ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबाबु खतिवडाले समयमा पानी नपर्दा वन डढेलो तथा आगलागीका घटना अत्याधिक हुने बताउनुभयो । डढेलोले वन–वन्यजन्तु, जडिबुटि तथा पर्यावरणमा समेत असर गर्ने भएकाले डढेलो नियन्त्रणमा सहभागी हुन उपभोक्ताहरुलाई अपिल समेत गर्नुभयो । डढेलो नियन्त्रण गर्नकै लागि ज्योतिले तीन जना अग्निदस्ता समेत नियुक्त गरिसकेको छ ।
चैत १ गते मकवानपुरगढीबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम भीमफेदी गाउँपालिका, हर्नामाडी, फापरबारी, राईगाऊँ र हेटौंडा हुँदै समापन हुनेछ । वन ऐन २०७६ का अनुसार वनमा डढेलो लगाउनेलाई बढीमा ६० हजार रुपैयाँ जरीवाना वा ३ वर्षको कैद वा दुवै सजाय हुने उल्लेख छ ।
र्यालीमा हर्नामाडी सव डिभिजनका पूर्व प्रमुख मदन घिमिरे, फरेष्टर जमुना तिमल्सिना, विज्ञान दाहाल, किरण कुमार क्षेत्री, वडा प्रहरी कार्यालय ठूलोदमारका प्रतिनीधि , ज्योति सा.व.उ.समूहका उपाध्यक्ष रेखा खतिवडा, सचिव राजकुमार श्रेष्ठ, पञ्चकन्या सा.व.उ.समूहका अध्यक्ष राम बहादुर मुक्तान, गोरक्षनाथ सा.व.उ.समूहका अध्यक्ष रोशन थापा लगायतका तीनैवटा वन उपभोक्ता समूहका उपभोक्ताहरु तथा नेपाल आर्मीका जवानहरुको उपस्थिती रहेको थियो ।