शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरको गजल संग्रह ‘वसन्तको आँकुरा’ सार्वजनिक भएको छ । शनिवार गाउँपालिकामा आयोजित स्रष्टा जमघट तथा सिर्जना वाचन समारोहका बीच उनको गजल संग्रह लोकार्पण गरिएको हो ।
सशस्त्र द्वन्द्वको समयमा राज्यपक्षबाट बेपत्ता पारिएकी माहिली बहिनी गिता थापा मगरको सम्झनामा उनले गजल संग्रह प्रकाशन गरेका हुन् । उक्त पुस्तकमा कुल ६० वटा गजल छन् । समाजमा भएका बेथिति र बिसंगतिलाई व्यंग्यात्मक ढंगले गजलमा प्रस्तुत गरिएको उनले बताए ।
‘गजल परम्परा खासगरी माया पिरतिका बिषयवस्तु हुन्छन्,’ उनले भने, ‘तर यसमा त्यो भन्दा अलि फरक धारमा मैले गजल रचना गरेको छु ।’ साहित्य मानव समुदायका लागि हुनुपर्छ भन्ने कोणबाट गजल तयार गरिएको उनले जानकारी दिए । मानिसलाई उज्यालो भविष्य र आशावादी जीवन देख्न प्रेरित गर्ने हिसावले गजल तयार गरिएको उनको भनाइ छ ।
यसअघि थुप्रै रचना तयार गरेपनि प्रकाशित कृति भने उनको यो पहिलो हो । उक्त गजल संग्रहको मूल्य संस्थागतका लागि ३ सय र व्यक्तिगतका लागि २ सय रुपैया निर्धारण गरिएको छ । पुस्तक बिक्री गरेर प्राप्त हुने रकम मानव सेवा आश्रम गोरखामा आवासीय सुविधासहित बस्दै आएका अनाथ तथा असहाय बालबालिकालाई सहयोग गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।
उनको ‘बन्द आवाज’ नामक कविता संग्रह पनि प्रकाशनको तयारीमा छ । स्नाकोत्तर तहको दोस्रो बर्षमा सोध कार्य पूरा गर्ने क्रममा उनले उक्त कविता संग्रह रचना गरेका थिए । मुक्तकबाट लेखन यात्रा सुरु गरेका उनी आफ्नो हजुरबुबाबाट प्रेरित थिए । ‘बाजे अलि धार्मिक र सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो, कथा र पुराना श्लोक भन्नुहुन्थ्यो, उहाँबाट पनि प्रभावित भएर साहित्य प्रति रुचि बढ्यो,’ थापाले भने ।
पालिका अध्यक्ष भएका कारण अधिकांश समय व्यस्त रहने उनी फुर्सद पाए रचना सिर्जना गरिहाल्छन् । कतै जाँदा देखिने विषयवस्तु र भोगाईका घटनालाई बिम्बात्मक रुपमा उतार्ने गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘प्राय साँझ ८/९ बजेपछि र बिहान ५/६ बजेतिर साहित्यिक रचनाहरु लेख्ने गर्छु ।’
शनिवार आयोजित कार्यक्रममा पालिकाका स्थानीय प्रतिभाहरुको सिर्जना वाचनसँगै साहित्य रचना सम्बन्धि अन्तरक्रिया समेत भएको थियो । स्रष्टा पदयात्रा नेपालका स्रष्टाहरुले आफ्नो साहित्यिक रचना वाचन गरेका थिए । गाउँपालिकाको आयोजना, शहिद लखन साहित्य समाजको सह–आयोजना र स्रष्टा पदयात्रा समाजको समन्वयमा कार्यक्रम भएको हो ।