कावासोती,फागुन ११।विद्यालयको गेटमा खेल्नेक्रममा च्यापिएर आज एक जना विद्यार्थीको मृत्यु भएको छ । नवलपुरको कावासोती नगरपालिका–५ मा रहेको कालिका माध्यमिक विद्यालयको गेटमा खेल्नेक्रममा सोही ठाउँ निवासी कक्षा ३ मा पढ्ने १० वर्षकी गमित्रा सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ ।प्रहरीका अनुसार विद्यालयमा सामग्री ल्याउन ट्याक्टरका लागि गेट खुला गरिएको थियो । गेटमा झुण्डिएर खेल्दै गर्दा गेट पल्टन गई बालिकालाई च्याप्दा घटना स्थलमै मृत्यु भएको हो । शवलाई पोष्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनामा सोही विद्यालयको कक्षा ४ मा पढ्ने ९ वर्षको किस्मत ढकाल घाइते भएका छन् ।