Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नेपालमा छेपारोका ३ नयाँ प्रजाति फेला

नेपालमा छेपारोका ३ नयाँ प्रजाति फेला

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०८१
नेपालमा छेपारोका ३ नयाँ प्रजाति  फेला
images

काठमाण्डाै । नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन् । 'वेन्ट–टोड गेक्को' अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी क्षेत्रमा फेला परेको हो ।

छेपाराेकाे पहिचान तथा नामकरण गरी हालै अन्तर्राष्ट्रिय जर्नल 'जुट्याक्सा' मा प्रकाशित गरिएको अनुसन्धानकर्ता एवम् संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिनुभयो । उहाँकै नेतृत्वको अनुसन्धान टोलीले छेपारोका नयाँ प्रजाति फेला पारेको हो ।

अध्ययन टोलीमा नेपालबाट सन्तोष भट्टराईको नेतृत्वमा विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे र इशान अग्रवाल, जर्मनीका फ्रान्क तिल्लक तथा अस्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी हुनुहुन्थ्यो ।

नयाँ फेला परेका प्रजातिमध्ये चितवनको उत्तरी क्षेत्र कविलास, शक्तिखोर, गैरीवारी, उपरदाङगढीलगायत तनहुँको बन्दीपुर र दमौलीदेखि भिमादसम्म फेला परेको प्रजातिको नामकरण ‘चितवन वेन्ट–टोड गेक्को’ भनेर नामकरण गरिएको छ ।

दोस्रो प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने ल्वाङ्ग, घान्द्रुक क्षेत्र तथा कास्कीको नौडाँडा क्षेत्रमा फेला परेको प्रजातिको नाम अन्नपूर्ण संरक्षण क्षेत्रले समुदायमा आधारित जैविक विविधता संरक्षणमा खेलेको भूमिकाको कदरस्वरूप तथा अन्नपूर्ण हिमशृङ्खलाका नाममा ‘एक्याप वेन्ट–टोड गेक्को’ भनेर नाम राखिएको छ ।

तेस्रो प्रजाति मनास्लु संरक्षण क्षेत्रमा भेटिएको थियो । याे प्रजातिको नाम नेपालकै वरिष्ठ वन्यजन्तु विज्ञ प्रोफेसर करणबहादुर शाहले नेपालको वन्यजन्तु (खासगरी उभयचर–सरीसृप) संरक्षणमा गरेको यागदानस्वरूप ‘करण वेन्ट–टोड गेक्को’ भनेर राखिएको छ ।

यसरी फेला पारिएका नयाँ प्रजाति यस अनुसन्धानका मुख्य शोधकर्ता सन्तोष भट्टराईको विद्यावारिधि अध्ययनका क्रममा सन् २०२३ को अप्रिलदेखि सेप्टेम्बरसम्म भेटिएका थिए । यी प्रजाति पक्का गरेपछि जर्नलमा प्रकाशित गरी हालैमात्र सार्वजनिक गरिएको हो ।

वेन्ट–टोड गेक्को प्रजातिअन्तर्गत नेपालमा पहिले पनि तीन वटा प्रजाति फेला परेका र यी प्रजातिको नमूना विदेशका सङ्ग्रहालयमा राखिएकाले अहिले फेला परेका प्रजाति संसारमै नयाँ भनेर यकिन गर्न विदेशमा सङ्ग्रहित नमूनाको अध्ययन तथा तुलना साथै तिनीहरूकै आनुवंशिक अध्ययन गरी यकिन गरिएको हो ।

यसरी अध्ययन गर्न नेपाल, भारत, अस्ट्रेलिया र जर्मनीका अनुसन्धानकर्ताको टोली सामेल भएको थियो । साथै याे अध्ययन टोलीले इलामबाट पहिले फेला परेको भनिएका दुई प्रजाति अनुवांशिक अध्ययन गर्दा ती प्रजाति नभई एक प्रजाति भएको यकिन गरेको छ ।

गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपारो संसारभरि ३ सय ५० भन्दा धेरै प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका ३ नयाँसहित जम्मा ५ प्रजातिमात्र पाइएको छ । सरकार तथा जैविक विविधता संरक्षण गर्ने नेपालका संस्था ठूला स्तनधारी वन्यजन्तुमा मात्र केन्द्रित रहेकाले नेपालमा अझै थुप्रै प्रजातिको रेकर्ड हुन बाँकी नै रहेको संरक्षणकर्मी बताउँछन् ।

सरीसृपलगायत अन्य अध्ययन कम भएका प्रजातिको खोज तथा अनुसन्धानका लागि सबै सरोकारवालाले यस्ता प्रजातिको अध्ययन, अनुसन्धान तथा संरक्षणमा प्राथमिकीकरण गर्नुपर्ने देखिएको अध्ययन टोलीको नेतृत्व गर्नुभएका भट्टराईले बताउनुभयो ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०८१ आइतवार - ०९:०५:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology