Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

दुना–टपरी उद्योगबाट कमाउँदै पाल्पाली महिला

दुना–टपरी उद्योगबाट कमाउँदै पाल्पाली महिला

images

इच्छाकामना न्युज

९, फाल्गुण २०८१
दुना–टपरी उद्योगबाट कमाउँदै पाल्पाली महिला
images

पाल्पा, फागुन ९ गते । तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन, उहाँलाई श्रीमान्को भर नपरी सुखै थिएन । 

चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित केसीको जीवन फेरिएको छ । उहाँ अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुना–टपरी बनाउन व्यस्त हुनुहुन्छ । अहिले उहाँलाई घर खर्चका लागि चाहिने पैसा पनि यसबाटै जुट्छ । “पहिले हातमा पैसा नहुँदा तनाव हुन्थ्यो, सानो कामका लागि अरूकै भर पर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “आजभोलि आफैँसँग पैसा हुन्छ । दिनभर घरमा बस्नुको साटो दुना–टपरी बनाउन थालेँ । त्यसबाट पुग्दो आम्दानी हुन थालेको छ ।”

 सोही ठाउँकी मीनु रोकालाई विगतमा दिन बिताउन निकै गाह्रो थियो । उहाँ घरमा काम केही नभएपछि समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्र्ने गर्नुहुन्थ्यो । हिजोआज उहाँको दैनिकी पनि फेरिएको छ । उहाँ अहिले हरेक दिन काजीपौवामा रहेको दुना–टपरी उद्योगमा बिताउनुहुन्छ । अचेल उहाँँलाई उद्योगमा महिलासँग गफिँदै टपरी खुट्दाखुट्दै समय बितेको पत्तै हुँदैन । “बिहान–बेलुका घरको काम गरेर दिउँसो दुनाटपरी बनाउन उद्योगमा आउँछु, अहिले समय गएको पत्तो हुँदैन”, रोकाले भन्नुभयो । दुना–टपरी फुट्न थालेदेखि काम मात्र होइन, दाम पनि राम्रै कमाएको उहाँले बताउनुभयो ।

केसी र रोकाहासँगै धनकाला सारू पनि उद्योगमा आउनुहुन्छ । महिना दिनसम्म काम गरेपछि तलब बुझ्नुहुन्छ । यसभन्दा अघि उहाँको दिनभरको समय घरायसी कामपछि फुर्सदमै बित्थ्यो । अहिले व्यस्तता बढेर उहाँलार्ई भ्याइनभ्याई छ । सारूको व्यस्ततासँगै आम्दानी पनि बढेको छ । टपरी उद्योगसँग जोडिन थालेपछि उहाँको दैनिकीमात्र होइन, जीवनशैली नै फेरिएको छ । उद्योगमा काम पाएपछि आफूलाई घरखर्च चलाउन सजिलो भएको सारूको भनाइ छ । उहाँले भन्नुभयो, ‘आँगनमै उद्योग छ, कामका लागि टाढा जानु पर्दैन । घरको काम गर्दै उद्योगमा काम गर्न पाएका छौँ, यसले हाम्रो घरखर्च पनि चलेको छ ।” पहिला आफूहरू कामको खोजीमा भौँतारिएको स्मरण गर्दै उहाँले हिजोआज सहज भएको बताउनुभयो ।

केसी, रोकाहा र सारूमात्र होइन, यहाँका अधिकांश महिलाले दुना–टपरी उद्योगमा रोजगारी पाएका छन् । उद्योगमा काम गरेबापत उहाँहरूले मासिक रू पाँच हजारदेखि १० हजारसम्म कमाउनुहुन्छ । 

पाँच वर्षअघि काजीपौवा बहुउश्द्देयीय महिला समूहले सञ्चालन गरेको दुना–टपरी उद्योगमा महिला मात्र भेटिन्छन् । उद्योगमा केही महिला टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरिरहेका हुन्छन् । उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइरहेको छ । उद्योग सञ्चालनमा आएको छोटो समयमै दुना–टपरीको माग बढ्न थालेपछि महिलालाई अहिले भ्याइनभ्याई छ । 

महिला दिदीबहिनीहरूलाई आयआर्जनसँग जोड्न र हराउँदै जान थालेको दुना–टपरी बनाउने चलनलाई कायम राख्न उद्योग सञ्चालनमा ल्याइएको उद्योगकी अध्यक्ष चमेली श्रेष्ठले बताउनुभयो । उहाँले चुलोचौकामा मात्र सीमित महिला अहिले आत्मनिर्भर बन्दै गएको उल्लेख गर्नुभयो । उद्योग सञ्चालनमा आएपछि वनमा खेर गइरहेको सालको पातको सदुपयोग भएको उहाँको भनाइ छ । 

तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ [रेडा] र युएनडिपीको सहयोगमा ठूला टपरी बनाउने मेसिन र सानो टपरी बनाउने मेसिन पाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले डिभिजन वन कार्यालयको सहयोगमा रू एक लाख बराबरको उद्योगका लागि आवश्यक सामग्री पनि अनुदानमा पाएको उल्लेख गर्नुभयो । विसं २०७७ मङ्सिर १५ गते ४० जना मिलेर समूहमा उद्योग खोलिएको थियो । अहिले यहाँ पाँच जना महिलामात्र सक्रिय रूपमा लागिरहेका छन् ।  दुना–टपरी बनाउने चलन हराउँदै जाँदा संस्कृति पनि मेटिन लागेकाले आफूहरू जगेर्ना गर्न लागिपरेको हरिकला रानाको भनाइ छ । कतिपय नयाँ पुस्तामा दुना–टपरी बनाउने चलन थाहा नभएको अर्की महिला मन रानाले बताउनुभयो ।

 पोखरादेखि काठमाडौँसम्म पाल्पाली दुना–टपरी

यहाँ तयार गरिएका दुना–टपरी पाल्पासहित देशका ठूला सहर बुटवल, भैरहवा, पोखरा, काठमाडौँसम्म पुग्ने गरेको छ । दुना–टपरी उद्योगमा फोन गरेर पनि बाहिरबाट झिकाउने गर्दछन् । साइजअनुसार रू दुईदेखि १० सम्म  दुना–टपरी बिक्री हुँदै आएको छ ।

दुना–टपरीको धार्मिक महत्त्व 

दुनाटपरी आम्दानीको राम्रो स्रोत मात्र होइन, धार्मिक कार्यका लागि महत्त्वपूर्ण मानिन्छ । टपरीको प्रयोग प्रायः विवाह, व्रतबन्ध, न्वारन आदि शुभ तथा अशुभ कार्यमा देवतालाई भोग लगाउने र खाना खाने काममा प्रयोग गरिन्छ । विवाह, व्रतबन्ध, पुराणलगायत ठूला कार्जे गर्दा धेरै महिला जम्मा भएर दुना टपरी गाँस्ने चलन छ ।

खासगरी यी सामग्री परम्परागत रीतिरिवाज तथा संस्कृतिक कार्यक्रममा प्रयोग गरिन्छ । यिनमा खानेकुरा, अन्न, राख्ने र देवतालाई चढाउने काम गरिन्छ । त्यसका साथै थाल बटुकाको सट्टा दुना टपरीमा खानेकुरा राखी मानिसले नै खाने प्रयोजन पनि गर्छन् । थाल, बटुकामा खाएपछि माझ्नुपर्ने भएकाले ठूला भोजभतेरमा खाने प्रयोजनका लागि यो निकै महत्त्वपूर्ण मानिन्छ । एकपटक प्रयोग गरेपछि फ्याँकिन्छ । यो वातावरणमैत्री पनि मानिन्छ । प्रयोगपछि सजिलै नष्ट गर्ने भएकाले हिजोआज यो सहरबजारमा पनि निकै प्रयोगमा आउन थालेको छ ।

यसरी बनाइन्छ दुना–टपरी

दैनिक जीवनमा चलाउने थाल र बटुकाजस्तै सामग्री हुन दुना र टपरी । टपरी धेरै पात एकापसमा सिन्काको माध्यमले जोड्दै थालजस्तो आकारको पारेर बुनिन्छ । यसका लागि पनि सीप भएकै व्यक्तिको आवश्यकता पर्छ । सालको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई हिजोआज भने आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको छ ।

यसको आकार भने आवश्यकतानुसार सानोठूलो बनाउन सकिन्छ । दुनाका लागि भने दुईवटा मात्र सालको पात प्रयोग गरिन्छ । पातलाई जोडेर मेसिनमा राखिन्छ । त्यसपछि मेसिनले अठ्याएर दुना–टपरीका [साना-ठूला] विभिन्न आकारमा बनाउने गरिन्छ । मेसिनले थिचेर दुनाटपरीको आकार दिएपछि सिन्को लगाउने काम भने हातले नै गर्नुपर्ने हुन्छ । आफ्नै वनपाखामा झरेर खेर जाने पात टिपेर बनाइने भएकाले कच्चा पदार्थको समस्या छैन । गाउँघरका महिलाका लागि यो गतिलो आम्दानीको माध्यम बनेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८१ शुक्रवार - ०८:४१:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology