Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

जब ज्यालामा विभेद भोगिन्, अनि ठेकेदार बनिन् पार्वती

जब ज्यालामा विभेद भोगिन्, अनि ठेकेदार बनिन् पार्वती

images

इच्छाकामना न्युज

६, फाल्गुण २०८१
जब ज्यालामा विभेद भोगिन्, अनि ठेकेदार बनिन् पार्वती
images

कञ्चनपुर, फागुन ६  गते । पहिला दिनभर मजदुरी गरेर रु पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रु एक हजार आम्दानी गर्न थाल्नुभएको छ ।

घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिक्नुभयो । 

“दिनभर पुरुषसरह मजदूरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफैँ मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ”, पार्वतीले भन्नुभयो, “दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ ।” उहाँले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताउनुभयो ।

 “सुरुमा मजदुरी गर्थे दिनको रु पाँच सय मात्रै ज्याला पाउँथे । अहिले आफँै घर निर्माणको ठेक्का लिन थालेकी छु”, डगौराले भन्नुभयो, “अहिले आफूले मिस्त्रीको काम गर्दा दैनिक रु एक हजार आम्दानी हुन्छ ।” राज मिस्त्रीको तालिम सकिनेबित्तिकै गाउँमा एउटा घर निर्माणको ठेक्का मिलेको उहाँको भनाइ छ । 

“मजदुरी गरेर मात्रै घरखर्च धान्न गाह्रो भयो अब आफैँ मिस्त्रीको काम गर्नुपर्छ भनेर हिम्मत गरेँ”, उहाँले भन्नुभयो, “मैले महिला पुरुष दुवैको ज्याला समान गरेकी छु । आफूले भोगेको जस्तो ज्यालामा विभेद गरेको छैन ।”

पार्वतीले गाउँमै तीन वटा घरको ठेक्का लिएर निर्माण सम्पन्न गरिसक्नुभएको छ । एउटा घरको काम नसकिँदै अर्को घरको ठेक्का पाउने गरेको उहाँको भनाइ छ । “अहिले धेरै सजिलो भएको छ ठेक्का पाइराखिएको छ”, उहाँले भन्नुभयो, “पहिला मजदुरीमा जाँदा थोरै ढिला भए पनि ठेकेदारले फर्काइदिन्थ्यो ।”   

दृढ इच्छा शक्ति धैर्यता र निरन्तरता हुने हो भने कुनै चिज असम्भव नहुने डगौराको भनाइ छ । “यहाँ ज्यालामा धेरै विभेद छ, एउटै कामको ज्यादा पुरुषलाई बढी छ महिलालाई कम दिइन्छ”, उहाँले भन्नुभयो, “यो विभेद अन्त्य गर्नका लागि पनि मैले हिम्मत गरेर तालिम लिएर आफैँ घर निर्माणको ठेक्का लिन थालेकी हुँ”, अहिले उहाँले अरु महिलालाई रोजगारी दिएको बताउनुभयो । 

निड्स नेपाल कञ्चनपुरले दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाअन्तर्गत कञ्चनपुरको वेदकोट र कृष्णपुर नगरपालिकामा परियोजना सञ्चालन गरेको छ । 

परियोजनाअन्तर्गत महिलाको आयआर्जनमा सुधार क्षमता विकासका लागि तालिम र उनीहरुको आश्वयकता अनुसारको उद्यममा सहयोग गरेको परियोजना संयोजक हेमन्त शाहीले बताउनुभयो । “परियोजनाअन्तर्गत १३ प्रकारका उद्यममा एक सय २३ जना प्रत्यक्ष लाभाम्वित छन्”, उहाँले भन्नुभयो, “यस परियोजनाबाट न्यून आयस्तर भएका महिलाको जीविकोपार्जनमा सुधार आएको छ ।”

 वेदकोट नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले केही गर्न चाहने महिला आत्मनिर्भर बन्न सहयोग पुगेको बताउनुभयो । “न्यून आयस्तर भएका महिला र इच्छाशक्ति भएकाहरूलाई दातृ निकायको सहयोगमा हामीले आत्मनिर्भर बन्न सहयोग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “अहिले धेरै महिला विभिन्न पेसामा सक्रिय रहेर आत्मनिर्भर बनेका छन् ।” उहाँले व्यवसाय गर्ने महिलालाई तालिम मात्रै नभई आर्थिक रूपमा पनि सहयोग गरिरहेको बताउनुभयो । रासस

images
प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार - ०८:२७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology