गोरखा । जिल्लामा चल्ने सार्वजनिक यातायातका साधनमा ‘गोरखा पर्यटन बर्ष’ अंकित स्टिकर टाँस्न थालिएको छ । भ्रमण बर्षको प्रचार प्रसारका लागि स्टिकर टाँस्ने कार्य सुरु गरिएको गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले बताइन् ।
बसपार्कमा एक कार्यक्रमका बीच स्टिकर टाँस गर्ने कार्यको सुरुवात गरिएको हो । गोरखा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख जिल्ला अधिकारी, यातायात व्यवसायी लगायतको सहभागितामा कार्यक्रम भएको हो ।
‘जिल्लामा चल्ने सार्वजनिक यातायात बिभिन्न जिल्लामा पुग्छन्,’ उपप्रमुख थोकरले भनिन्, ‘ती यातायातमा टाँसिएको स्टिकर देखेर गोरखा भ्रमण बर्षको बारेमा धेरैले थाहा पाउँछन् ।’ यसले प्रचार प्रसारमा सहयोग पुग्ने साथै गोरखा आउन प्रोत्साहन समेत गर्ने उनले बताइन् ।
गोरखामा घुम्नैपर्ने ऐतिहासिक र धार्मिक महत्वका स्थलहरुबारे जानकारी उल्लेख गरिएको ब्रोसर र पम्प्लेट पनि वितरण गरिएको छ । ‘गोरखा किन आउने भन्ने कुरा त्यो ब्रोसर र पम्प्लेटमा उल्लेख छ, यसले पर्यटकलाई गोरखा घुम्न आउने हुटहुटी जगाउँछ,’ थोकरले भनिन् ।