चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा जङ्गली हात्ती 'मकुना'को मृत्यु प्रकरणसम्बन्धी छानबिन गर्न बनेको कार्यदलले स्थलगत अध्ययन सकेको छ ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलको संयोजकत्वमा बनेको कार्यदलले तीन दिनदेखि थालेको स्थलगत अध्ययन सकेर बुधबार उक्त टोली काठमाडौँ फर्किएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार कार्यदलले चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना र सरोकार भएकासँगको छलफल गर्नुका साथै घटनास्थलको स्थलगत निरीक्षण एवं अनुगमन गरी पर्किएको हो । उनले भने, 'कार्यदलको टोलीले आफ्नो काम सकेर हिजो काठमाडौँ फर्किएको छ ।'
चितवन राष्ट्रिय निकुञ्जको लामिताल क्षेत्रमा यही माघ २३ गते मकुनालाई गोली हानी मारिएको विषयमा मन्त्रालयले बनाएको कार्यदलको सदस्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मुल्याङ्कन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावत, वन तथा भूसंरक्षण विभागका वन अधिकृत सबनम पाठक, चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा दिनेश शाहलगायत टोलीले स्थलगत अध्ययन तथा अवलोकन गरेको निकुञ्जका सूचना अधिकारी थापा मगरले जानकारी दिए ।