काठमाडौं । आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा मनाइने यो अन्तरराष्ट्रिय दिवसमा आतङ्कवादको प्रतिरोध र त्यस निम्ति अनुकूल हुने हिंसात्मक अतिवादलाई रोक्न अन्तरसरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले अतिवादविरुद्ध सचेतना फैलाउने गरेका छन् ।
विश्व शान्ति, सुरक्षा, मानवअधिकार र दिगो विकासलाई प्रभावित पार्ने हिंसात्मक अतिवादलाई परास्त गर्दै धार्मिक, सांस्कृतिक, सामाजिक, सहिष्णुताको सन्देश प्रवाह गर्न राष्ट्रसङ्घले यो दिवस मनाउन आह्वान गरेको हो । सन् २०१६ मा महासचिव वान कि मुनले हिंसात्मक अतिवाद रोक्नेसम्बन्धी कार्ययोजना महासभामा प्रस्तुत गरेसँगै यो दिवस मनाउन प्रारम्भ भएको हो ।