भरतपुर । नेपाल पत्रकार महासंघ चितवनले भरतपुर अस्पतालसँगको सहकार्यमा एकदिने स्वास्थ्य पत्रकारिता तालिम दिएको छ। जिल्लाका क्रियाशील पत्रकारहरुलाई तालिम दिइएको पत्रकार महासंघ चितवनले जनाएको छ।
स्वास्थ्यसम्बन्धी समाचार लेखनमा पत्रकारहरुलाई स्वास्थ्य विषयबारे जानकारी दिलाउनको लागि तालिम आयोजना गरिएको पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीले जानकारी दिए। पराजुली नेतृत्वको नयाँ समिती आएपछि पहिलो कार्यक्रमस्वरुप पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम आयोजना गरिएको उनले बताए।
तालिममा वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्र र भरतपुर अस्पतालका फरेन्सिक चिकित्सक डाक्टर कश्यप श्रेष्ठले प्रशिक्षण दिएका छन्। डाक्टर श्रेष्ठले स्वास्थ्यकर्मी र पत्रकारबीचको संवादमा भाषाको ज्ञानमा सामान्य कमजोरी हुँदा त्यसले ठूलो रुप लिन सक्ने जोखिम रहेको बताए।
वरिष्ठ स्वास्थ्य पत्रकार मिश्रले स्वास्थ्यसम्बन्धी समाचार लेख्ने पत्रकारले कम्तिमा मानव अङ्गको विषयमा पूर्ण ज्ञान राख्नुपर्ने सुझाव दिए। स्वास्थ्यसम्बन्धी समाचार सङ्कलनका क्रममा स्वास्थ्यकर्मी या विषय विज्ञले अङ्ग्रेजी भाषाको बढी प्रयोग गर्ने हुँदा त्यसको नेपाली अर्थ बुझ्न आवश्यक रहेको उनले बताए।
तालिमको सुरुवात गर्दै भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको समाचार सङ्कलनमा पत्रकारहरु गहिराईमा पुग्न आवश्यक रहेको बताए। कुनै बिरामीको उपचार हुँदैगर्दा देखिने समस्याको विषयमा सम्बन्धित अस्पताल, चिकित्सक र बिरामीको परिवारसँग भन्दा पनि आफन्तहरुमा निर्भर रहँदा सही सूचना बाहिर आउन नसकेको उनले बताए।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले एक दिने तालिम भए पनि यसबाट पत्रकारहरुलाई ज्ञान प्राप्त हुने विश्वास लिए।