Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

बाजुरामा महिनावारी भएकालाई बाटो हिँड्न रोक

बाजुरामा महिनावारी भएकालाई बाटो हिँड्न रोक

images

इच्छाकामना न्युज

२८, माघ २०८१
बाजुरामा महिनावारी भएकालाई बाटो हिँड्न रोक
images

बाजुरा, माघ २८ गते । बाजुराका अधिकांश गाउँबस्तीका महिनावारी भएका महिलालाई मठमन्दिरनजिकका बाटो हिँड्न मनाही गरिँदै आएको छ । यहाँका अधिकांश गाउँबस्ती जाने बिच बाटोमा मठमन्दिर छन् । महिनावारी भएका महिलाले ती मठमन्दिरनजिकका बाटोमा कहिल्यै हिँड्न पाउँदैनन् । महिनावारी हुँदा महिलाले ती बाटोमा हिँडेपछि गाउँमा अनिष्ट हुने र देवीदेउता पनि रिसाउँछन् भन्दै यहाँका धामीझाँक्रीले डर देखाउने गरेकाले उनीहरू ती बाटो हिँड्न छाडेका छन् ।  

महिनावारी भएका बेला मठमन्दिरनजिकको बोटामा हिँडेपछि गाउँमा धामीझाँक्री रिसाउने गर्छन् । त्यसैले आफूहरू महिनावारी हुँदा ती बाटोमा हिँड्न छाडेको बुढीगङ्गा नगरपालिका–१०, बदेडाकी स्थानीय (नाम परिवर्तन) पवित्रा विकले बताउनुभयो । उहाँले भन्नुभयो, “माथि गाउँ छ, तल वन छ, त्योबिचमा कालापालत देउताको ठुलो मन्दिर छ । वनमा घाँसदाउरा ल्याउन त्यही बाटो जानुपर्ने भए पनि देउताको डरले नै म त्यो बाटोमा कहिल्यै गएकी छैन ।” महिनावारी हुँदा दुध, दही, महीलगायतका पोसिला खानेकुरा त टाढाको कुरा, बाटोमा समेत हिँड्न नपाउँदा आफूलाई यो समाजले निकै अन्याय गरेको विकले बताउनुभयो । 

महिनावारी भएका महिलाले दुहुनो गाईभैँसीको शरीरमा छुनसमेत मिल्दैन । कोही कसैले जबरजस्ती गरेर छोयो भने गाई बिरामी हुन्छ, नब्याउने हुन्छ भन्ने मान्यता बाजुरामा छ । यस्तै गरेर महिनावारी भएका बेला महिलाले गाईभैँसीको शरीरमा छोयो भने सुनपानीले छर्केर भैँसीलाई चोख्याउने प्रचलन पनि कायमै छ  । यहाँ महिलाका क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाले छाउप्रथा अन्त्य गर्न २०६७ सालदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् तर पनि गाउँमा छाउप्रथा कायमै छ । लामो समयदेखि जरा गाड्दै आएको यो प्रथा अहिलेसम्म हटेको छैन ।

यही छाउप्रथाका कारण महिनावारी भएको बेला २०७६ सालमा बुढीनन्दा नगरपालिका–९, पाण्डुसैनमा छाउगोठमा सुत्दा आमा र दुई छोरासहित तीन जनाको आगलागीमा परेर ज्यान गएको थियो । त्यसपछि छाउप्रथा कुप्रथा हो भन्दै बाजुराका विभिन्न स्थानीय तहमा छाउप्रथा उन्मूलन कार्यक्रम सञ्चालन गरिएको थियो । यहाँ धेरै गोठ भत्किए तर स्थानीयको मानसपटलमा छाउप्रथा कायम रहँदै आएपछि अहिले यसले व्यापकता लिँदै गएको हो ।

महिनावारी हुँदा देवताको डरले घरभन्दा धेरै टाढा छाउगोठमा सुत्दा गाउँका कयौँ दिदीबहिनी बलात्कृत हुने गरेका छन् । धेरैको जीवन बर्बाद भयो तर पनि यो प्रथा गलत हो भन्ने कुरामा गाउँमा कसैको ध्यान नजाँदा अहिलेका बालिकाले दुःख भोग्नु परेको छ ।

महिनावारी भएका महिलालाई यस्तो विभेद गर्ने जोकोहीलाई कानुनी रूपमा कारबाही गर्ने भने पनि अहिलेसम्म स्थानीय निकायले यसको कार्यान्वयन गरेको छैन । बाजुरामा ५११ वटा छाउगोठ भत्काएका हुन् । फेरि पनि अहिले कता कता छाउगोठ निर्माण भइरहेको भन्ने जानकारी आएकाले ती गोठसमेत भत्काउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।  

images
प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - ०८:३९:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology