चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती (मकुना) को मृत्युका विषयमा बनेको छानबिन समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ।
छानविन समितिले चितवनमा दुई दिनसम्म बसेर घटनाको विषयमा स्थलगत अध्ययन गर्ने छ।
‘चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जका सेक्टर कार्यालय, सुरक्षा निकाय, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, स्थानीय पालिका र प्रशासनसँग छलफल तथा अन्तरक्रिया गरिने छ,’ सहसचिव डा पौडेलले भने। होटल व्यवसायीले पालेका हात्तीका कारण जङ्गली हात्ती मानव बस्तीमा बसेको गुनासो आएकाले होटल तथा हात्ती व्यवसायीलाई भेट्ने उनले जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर यही माघ २३ गते मकुनाको मृत्यु भएको थियो । वन मन्त्रालयले सात दिनभित्र घटनाको विस्तृत विवरण तथा कारण पहिचान गर्न माघ २५ गते छानबिन समिति बनाएको थियो।