चितवन, माघ २७ । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका छ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले डिभिजन सडक र ट्राफिक प्रहरी कार्यालयसँग हुने छलफलमा मुख्य चोकमा ट्राफिक लाइट जडानका लागि पहल गर्दै आएको बताउनुभयो । सडक विस्तारका क्रममा रहेकाले ढिलागरी काम हुन लागेको उहाँले बताउनुभयो । सडक विभागले लाइट राख्ने भएकाले महानगरले बजेट विनियोजन गर्न नपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सडक विस्तार पछि लाइट राख्ने भनिएकाले केही समय ढिलो भएको हो । पहिलेदेखि नै लाइट राख्ने कुरा हुँदै आएको थियो ।” यससँगै सवारी दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ । गाडी र पैदलयात्री दुवैलाई हुनेगरी लाइट जडान गरिँदै छ । काठमाडौँमा मात्र ४४ स्थानमा शाखाले लाइट राखेको छ ।