Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

प्रधानमन्त्री कार्यालयद्वारा नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन

प्रधानमन्त्री कार्यालयद्वारा नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन

images

इच्छाकामना न्युज

१९, माघ २०८१
प्रधानमन्त्री कार्यालयद्वारा नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन
images

चितवन । प्रधानमन्त्री कार्यालयले नागढुङ्गा–मुग्लिन खण्डको अनुगमन गरेको छ । प्रधानमन्त्रीको निर्देशनपछि जनसम्पर्क सल्लाकार किरण पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो ।

टोलीले निरीक्षणपछि एक वर्षभित्रमा निर्माण सम्पन्न गर्न सरोकार भएकालाई आग्रह गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य खण्डका रूपमा रहेको उक्त सडक स्तरोन्नतिका क्रममा सर्वसाधारणले दुःख पाएपछि यथाशीघ्र काम सम्पन्न गर्न सरोकार भएकालाई आग्रह गरिएको हो ।  

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहाकार पौडेल, निजी सचिव विनोदबहादुर कुँवर, प्रधानमन्त्री कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर मोहदेव भट्ट, सडक विभागका उपमहानिर्देशक डा विजय जैसी, सिनियर डिभिजनल इञ्जिनियर सुरेश पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेसहित दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । साथै तीनै वटा खण्ड हेर्ने आयोजनाका प्रमुख, इञ्जिनियर, निर्माण कम्पनीका प्रतिनिधिलगायत उपस्थिति थियो ।

एक वर्षभित्रमा निर्माण सक्नेगरी तालिका अद्यावधि गरेर काम गर्न आग्रह गरिएको प्रधानमन्त्री कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर भट्टले जानकारी दिनुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार नियमित अनुगमन गरी कामलाई यथासक्य छिटो सम्पन्न गरेर आमनागरिकलाई सहजीकरण गर्ने विषयमा आयोजना प्रमुखलाई आवश्यक निर्देशन दिइएको छ । उहाँले हरेक महिना अनुगमन गरी कामलाई तीव्रता दिने वातावरण मिलाइने बताउनुभयो ।

करिब ९५ किलोमिटर दूरी रहेको यो खण्ड तीन चरण (प्याकेज) छुट्याएर स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी छुट्याइएको छ । पहिलो प्याकेजअन्तर्गत नागढुङ्गा–नौबिसे १२ दशमलव २६ किमी, दोस्रोमा ४३ दशमलव ५४ किमी र तेस्रोमा ३८ दशमलव ८६ किमी रहेको आयोजना कार्यालयले जनाएको छ ।

पहिलो प्याकेजको नागढुङ्गा–मुग्लिन खण्ड गत जेठ २७ गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता भए म्याद नाघेको आठ महिना भइसकेको छ । हालसम्म ६५ प्रतिशत मात्र काम भएको छ । यो खण्डको स्तरोन्नतिका लागि रु एक अर्ब ३० करोडमा ठेक्का सम्झौता गरिएको थियो । दोस्रो प्याकेज अन्तर्गत नौबिसे–मलेखु खण्ड ४३ दशमलव ५४ किमी विसं २०८२ जेठ २७ भित्र सम्पन्न गर्नेगरी विसं २०७९ वैशाख १४ गते पाँच अर्ब ३३ करोड १९ लाख लागतमा ठेक्का सम्झौता भएको हो । यो खण्ड अन्तर्गत २८ प्रतिशत मात्र काम भएको छ भने निर्माणको म्याद थप गरी विसं २०८३ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तेस्रो प्याकेजमा मलेखु–मुग्लिन खण्ड पर्दछ । यसको लम्बाइ ३८ दशमलव ८६ किमी छ ।  रु चार अर्ब ८० करोड ५९ लाखमा निर्माण गर्नेगरी विसं २०७९ पुस १५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार विसं २०८२ पुस १५ गतेभित्र सम्पन्न गर्नुपर्नेमा हालसम्म २३ प्रतिशत मात्र काम भएको छ । यस खण्डबाट दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्छन् ।रासस

images
प्रकाशित मिति :माघ १९, २०८१ शनिवार - ०७:४१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology