Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग

‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग

images

इच्छाकामना न्युज

१८, माघ २०८१
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग
images

चितवन, माघ १८ गते । भरतपुर महानगरपालिका-१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ आज बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो । सहकारी र निजी डेरी फार्महरुले सङ्कलन गरेको दूध बजारमा खपत हुन नसकेपछि ती ट्याङ्करहरू उद्योगमा दूध बोकेर आएका थिए । 

बजारमा दूध खपत नभएपछि प्रशोधन गरेर धुलो बनाउन ती ट्याङ्कर यहाँ आएका हुन् । नेपाल डेरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहाल यसरी आएको दूध उक्त उद्योगले प्रशोधन नगरेको भए दूध फाल्नुको विकल्प नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चितवन मिल्क नभएको भए तपाईंले आज बिहान देखेको ट्याङ्करको दूध खोलामा फाल्नुको विकल्प थिएन ।” 

केही वर्ष अघिसम्म दूध धेरै उत्पादन हुने समयमा मिल्क होलिडे गर्ने गरिएको थियो । अध्यक्ष दाहालका अनुसार पछिल्लो आँकडाअनुसार नेपालमा दैनिक ७५ लाख लिटर दूध उत्पादन हुने गर्दछ । त्यसमध्ये आधा दूध घर र बाँकी व्यावसायिक प्रयोजनमा प्रगोग हुने गरेको छ । व्यावसायिक प्रयोजनमा प्रयोग हुनेमध्ये ३३ प्रतिशत दुग्ध विकास संस्थानसहित व्यावसायिक उद्योगहरुमा प्रशोधन गरेर बजारमा पठाइन्छ भने बाँकी स्थानीय डेरी पसलले प्रशोधन नगरी बजारमा पठाउने गरेका छन् । 

वैशाखदेखि असोजसम्म दूधको उत्पादन कम हुने गर्दछ । यो समयमा अरु बेलाको तुलनामा ४० प्रतिशतसम्म दूध कम हुने आँकडा छ । बढी उत्पादन भएको बेला दूधलाई प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ । नेपालमा चितवन मिल्कसहित पोखराको सुजल, भक्तपुरको शिवपुरी, विराटनगरको सूर्याेदय र सगरमाथासँगै बागमती प्रदेशको हेटौँडा डेरीले दूधको धुलो बनाउने गरेका छन् । 

क्षमताको हिसाबले चितवन मिल्कले सबैभन्दा बढी प्रशोधन गर्ने गरेको नेपाल डेरी उद्योग सङ्घले जनाएको छ । मङ्सिर र पुस महिनामा दैनिक दुई लाख ५० हजार लिटर दूध प्रशोधन हुने गरेकामा माघ लागेपछि सबै उद्योगले गरी दैनिक दुई लाख लिटर दूध प्रशोधन हुँदै आएको छ । चितवन मिल्कले भने दैनिक ८० हजार लिटर दूध प्रशोधन गर्दै आएको छ ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटरसम्म दूध प्रशोधन गर्न सक्छ भने २४ घण्टा सञ्चालन गर्दा दुई लाख लिटर दूध प्रशोधन हुन्छ । उपकरणमा केही खराबी देखिएकाले अहिले एक सिफ्टमा ८० हजार लिटर मात्रै प्रशोधन गरिँदै आएको उहाँले जानकारी दिनुभयो । प्रबन्धक पराजुलीले भन्नुभयो, “हामीले यो बेला प्रशोधन नगर्ने हो भने किसानले मिल्क होलिडे बेहोर्नुपर्छ ।” 

हाल सो उद्योगमा देशैभरबाट दूध आउने गरेको छ । १२ वटा सहकारी संस्था र करिब ५० वटा निजी डेरीले यहाँ दूध पठाउने गरेका छन् । वि.सं.२०७५ सालदेखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गरिरहेको प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिलिटर पाउडर दूधको एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । वि.सं.२०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भए पनि पुनः सञ्चालनमा आएको थियो । रासस  

images
प्रकाशित मिति :माघ १८, २०८१ शुक्रवार - २०:४८:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology