Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

अमेरिकाको घातक हवाई दुर्घटनामा सबै ६७ जनाको मृत्यु

अमेरिकाको घातक हवाई दुर्घटनामा सबै ६७ जनाको मृत्यु

images

इच्छाकामना न्युज

१८, माघ २०८१
अमेरिकाको घातक हवाई दुर्घटनामा सबै ६७ जनाको मृत्यु
images

अर्लिङ्टन (भर्जिनिया, अमेरिका), माघ १८ गते । आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

बुधबार राति रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट विमानको मार्गमा हेलिकप्टर उडेपछि पोटोमाक नदीको चिसो पानीबाट कम्तीमा २८ शव निकालिएको अधिकारीहरुले बताए । विमानस्थल वासिङ्टनबाट नदीपारि छ । विमानमा ६० यात्रु र चार चालक दलका सदस्य थिए भने हेलिकप्टरमा तीन सैनिक थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस पत्रकार सम्मेलनमा कोही पनि जीवित नबचेको बताउनुभयो । “अब हामी उद्धार कार्यबाट शव निकाल्ने कार्यमा रूपान्तरण भइरहेका छौँ”, राजधानीका दमकल प्रमुख जोन डोनेलीले भन्नुभयो । ह्वाइट हाउस र क्यापिटलको दक्षिणमा तीन माइल (लगभग ४.८ किलोमिटर) भन्दा बढी विश्वको सबैभन्दा कडा नियन्त्रण र निगरानी गरिएको एयरस्पेसमा राति ९ बजेभन्दा पहिले दुर्घटना भएको थियो ।

हवाई दुर्घटनाको अनुसन्धानमा महिनौँ लाग्न सक्छ र सङ्घीय अनुसन्धानकर्ताहरुले पत्रकारहरुलाई उनीहरूले कारणबारे अनुमान नगर्ने बताए । राष्ट्रिय यातायात सुरक्षा बोर्डका अनुसन्धानकर्ताहरुले बोम्बार्डियर सिआरजे७०० विमानबाट ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर बरामद गरेको एजेन्सीका प्रवक्ता पिटर नुडसनले बताउनुभयो । उनीहरु ती मूल्याङ्कनका लागि एजेन्सीको प्रयोगशालामा छन् ।

डोनेलीका अनुसार विमान कम्मरसम्मको पानीमा तीन खण्डमा उल्टो अवस्थामा फेला परेको थियो र प्रथम प्रतिक्रियाकर्मीहरुले पोटोमाकको माइलौँ क्षेत्र खोजिरहेका छन् । हेलिकप्टरको भग्नावशेष पनि फेला परेको छ । नदीका तस्बिरहरुमा आंशिकरुपमा डुबेको पखेटा र विमानको फ्युजलाजको क्षतविक्षत भग्नावशेष वरिपरि डुङ्गाहरु देखिन्छन् ।

अमेरिकन एयरलाइन्सका सिइओ रोबर्ट इसोमले जेटको ‘सैन्य विमान बाटोमा आएपछि’ विमान सामान्य अवतरणको तयारीमा रहेको बताउनुभयो । एसोसिएटेड प्रेसले प्राप्त गरेको सङ्घीय उड्डयन प्रशासनको प्रतिवेदन अनुसार दुर्घटना हुँदा एक एयर ट्राफिक कन्ट्रोलर हेलिकप्टर यातायात र आउने-जाने विमानहरूको समन्वय गर्न जिम्मेवार थिए । यी जिम्मेवारी प्रायः दुई व्यक्तिबीच विभाजित गरिन्छ तर यातायात कम हुन थालेपछि विमानस्थलले साँझ ९ः३० बजे यी भूमिकाहरू एकीकृत गर्छ । बुधबार टावर सुपरभाइजरले तिनलाई चाँडै नै एकीकृत गर्न निर्देशन दिएका थिए ।

“दिनको समय र ट्राफिकको मात्राका लागि स्थिति पद व्यवस्था सामान्य थिएन”, प्रतिवेदनमा भनिएको छ । यद्यपि यस मामिलासँग परिचित एक व्यक्तिले त्यस रात टावरमा कर्मचारीहरू सामान्य स्तरमा रहेको बताएका छन् । आन्तरिक प्रक्रियाहश्ररुबारे छलफल गर्न नाम न छाप्ने सर्तमा बोल्दै उनले भने, “कन्ट्रोलरहरुलाई कन्सोलबाट ब्रेकका लागि टाढा जानुपर्दा, सिफ्ट परिवर्तन हुँदा वा हवाई यातायात कम हुँदा यी पदहरु नियमितरुपमा एकीकृत गरिन्छ ।” सङ्घीय उड्डयन प्रशासन लामो समयदेखि एयर ट्राफिक कन्ट्रोलरहरुको कमीसँग जुधिरहेको छ । रासस/एपी 

images
प्रकाशित मिति :माघ १८, २०८१ शुक्रवार - २०:२९:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology