Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लमजुङमा छ हजारभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइने

लमजुङमा छ हजारभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइने

इच्छाकामना न्युज

१५, माघ २०८१
लमजुङमा छ हजारभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइने
images

लमजुङ, माघ १५ गते । लमजुङमा ६ हजारभन्दा बढी छात्राहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ ।

images
images

जिल्लाका आठ पालिकाका छ हजार ५४४ जना बालिकालाई एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । यसमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका छ हजार ४०६ जना छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका १३८ जना बालिका छन् ।

कार्यालयका अनुसार जिल्लामा विद्यालय जाने र विद्यालय नजाने किशोरीहरुका लागि दुई चरणमा सो खोप लगाइने भएको छ । माघ २२ गतेदेखि २५  गतेसम्म सञ्चालन हुने खोप अभियानमा बेंसीसहर नगरपालिकामा एक हजार ७१९ जना विद्यालयका र विद्यालय बाहिरका १५ जना, सुन्दरबजार नगरपालिकामा एक हजार १६७ र विद्यालय नजाने ५६ जना, मध्यनेपाल नगरपालिकामा एक हजार १७ जना तथा विद्यालय नजाने १४ जना र राइनास नगरपालिकामा ७८० जना र विद्यालय नजाने १२ जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।

त्यस्तै, गाउँपालिकातर्फ दोर्दी गाउँपालिकामा ५०९ जना विद्यालयका र विद्यालय नजाने १० जना, मर्स्याङ्दी गाउँपालिकामा ६६५ र विद्यालय नजाने सात जना, क्व्होलासोथर गाउँपालिकामा ३१९ जना विद्यालय नजाने १० जना र दुधपोखरी गाउँपालिकामा २६० जना विद्यालयका र विद्यालय नजाने १४ जना बालिकालाई सो खोप प्रदान गरिने भएको छ ।

खोप अभियानमा जिल्लाका १३४ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र २६८ जना स्वयंसेवक खटिने छन् । खोप अभियानका लागि जिल्लाका विभिन्न स्थानका विद्यालयमा १३४ वटा र विद्यालयभन्दा बाहिर ८० वटा खोप केन्द्र रहने प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका हेल्थ असिस्टेन्ट कमल ओलीले जानकारी दिनुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रवीणकुमार खनालका अनुसार अभियानमा खोप लगाउन छुटेकाहरुका लागि माघ २७ गते प्रदेश अस्पताल बेँसीसहरमा खोप लगाउने ब्यवस्था गरिएको छ ।

खोप अभियान प्रभावकारी बनाउन सरोकारवालालाई अभिमुखीकरण, खोपबाट हुन सक्ने समस्या समाधानका लागि चिकित्सकसहितको टोली परिचालन गरिने खनालले जानकारी दिनुभयो । प्रदेश अस्पताल लमजुङका प्रमुख डा. शिशिर देवकोटाले गर्भवती, क्यान्सर रोगी र सिकिस्त बिरामी बाहेक सबै लक्षित छात्राहरूलाई खोप लगाउन हुने जानकारी दिनुभयो । उहाँले पाठेघरको मुखको क्यान्सरविरुद्ध यो खोप एकदमै प्रभावकारी रहेकाले विना हिचकिचावट खोप लगाउन आग्रह गर्नुभयो ।

यसैबिच, खोप कार्यक्रम प्रभावकारी बनाउन जिल्लास्थित खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ । बेसीसहरमा भएको कार्यक्रममा महिलाको पाठेघरको मुखको क्यान्सरबाट जोगाउनका लागि खोप कार्यक्रमलाई प्रभावकारी बनाउनु सबैको दायित्व रहेको जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले जोड दिनुभयो । खोप कार्यक्रममा लक्षित समूहका छात्राहरूलाई अनिवार्य रुपमा सहभागी बनाउने गरी सबैको एकीकृत पहल आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपालमा प्रत्येक वर्ष दुई हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर हुने र सोमध्ये एक हजार ३१३ जनाको उक्त क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ ।

images
प्रकाशित मिति :माघ १५, २०८१ मंगलवार - १४:०६:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology