लन्डन । बेलायतवासी पूर्वगोर्खा सैनिक एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको शब्द रचनामा रहेको रोधीघरको आँगन भाग ४ को कास्कीको पर्यटकीय गाउँ ल्वाङमा छायांकन हुने भएको छ ।
सुमधुर स्वरका धनी गायक रामकुमार गुरुङ (आरके) को लय संकलनमा तयार पारिएको मौलिक कौरा/चुड्का गीतको आउँदो १४ फेब्रुअरी २०२५ मा छायांकन गर्न लागिएको हो । अहिलेसम्मका रोधीघरको आँगन बोलको सबै १, २ र ३ भागलाई दर्शक/स्रोताहरुले धेरै रुचाइदिएकोले र मौलिक गीतलाई निरन्तरतास्वरुप चौथो भाग निर्माण गरिएको गीतकार तथा फोटो पत्रकार रहेका तमुले बताए । छायांकनमा तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङसहित निवर्तमान अध्यक्ष, पूर्व र वर्तमान पदाधिकारी तथा सदस्य, सहारा यूकेका अध्यक्ष कृष्ण गुरूङ तथा सदस्यको समेत सहभागी हुनेछन् ।
गीतकार तमु र गायक गुरुङद्वयले आफ्नो मौलिक लोक संस्कार संस्कृतिलाई भावीपुस्तासम्म चिनाइराख्ने अभिप्रायले रोधीघरको आँगन बोलको गीतलाई १ दशकदेखि निरन्तरता दिँदै आएका छन् । यस गीतमा शब्द रचना मिलन तमु गुरुङले गरेका छन् भने गीतको मिठो लय र पुरुष गायन भने आरके गुरुङले गरेका छन् । उक्त गीतमा अहिलेको चर्चित गायिका अनु चौधरीले स्वर दिएकी छन् । गीतको अडियो रेकोर्डिङको सम्पूर्ण काम सकिएको गायक गुरुङले जनाएका छन् । पहिलाको भागहरुलाई जस्तै रोधीघरको आँगन भाग ४ ले पनि धेरै दर्शकस्रोतको मन तान्ने गीतकार र गायकले अपेक्षा राखेको बताएका छन् । यसअघिका गीतहरु आरके गुरुङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।