कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको शिक्षा शाखामा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ । इच्छाकामना ७ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय कापे र रानीखोला माध्यमिक विद्यालय रानिखोलामा नियम विपरित शिक्षक नियुक्ति गरेको आरोप लगाउँदै नेपाली कांग्रेस इच्छाकामना, नेपाल शिक्षक संघ, नेपाल तरूण दल, ने.वि.संघ र नेपाल महिला संघले बुधबार गाउँपालिका शिक्षा शाखामा ताला लगाएका हुन् ।
यस अघि नेपाल शिक्षक संघ इच्छाकामनाले नियुक्त बदर गर्न माग गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई ज्ञापनपत्र बुझाएका थिए ।
यता सो सम्बन्धमा इच्छाकामना अध्यक्ष दान बहादुर गुरुङले सामाजिक सञ्जालमा लेख्दै नियम संगत शिक्षक नियुक्त गरेको भन्दै नेपाली काँग्रेसले विषयलाई अतिरंजित पार्ने काम गरेको बताए । ‘स्थानीय सरकर संचालन एेन २०७४ ले आधारभुत र माध्यमिक तहको शिक्षा स्थानीय सरकारको अधिकार क्षेत्र भित्र पर्छ भने शिक्षक दरबन्दि मिलान, करार, राहत, अनुदान, सट्टा, पालिकाको आन्तरिक श्रोत निजि स्वयम सेवक शिक्षकको नियुक्ति सरुवा पालिकाले पालिका मातहतमा व्यवस्थापन गर्ने अधिकार रहेकोमा सोही बमोजिम हामीले उक्त विद्यालयमा शिक्षक व्यवस्थापन गरेका हौं, कसैलाई चित्त नबुझ्न सक्छ तर यस्तो अशोभनीय क्रियाकलाप राम्रो हैन ।’ –उनले भने ।
