काठमाडौँ । मलेसियामा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।
पहिलो पटक विश्वकपमा सहभागिता जनाएको नेपालले बङ्गलादेशविरुद्ध जीत निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ । उक्त खेल नेपाली समयअनुसार शनिबार दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ ।
गत वर्षको नोभेम्बरमा युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको विश्वकपका लागि एसियाली छनोट खेल भएको थियो । उक्त खेलमा नेपाल विश्वकपका लागि छनोट भएको हो । त्यतिबेला नेपाल पहिलो खेलमा युएईसँग पराजित भएको थियो भने अन्तिम खेलमा नेपालले युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।
विश्वकप छनोटसँगै पहिलो पटक आयोजना हुन लागेको यु–१९ महिला एसिया कपमासमेत नेपाल सहभागी हुने अवसर पाएको हो । विश्वकपमा विभिन्न १६ राष्ट्रको सहभागिता रहेको छ । जसलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ ।