Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

कंचनपुरमा बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

कंचनपुरमा बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

images
कंचनपुरमा बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या
images

३ माघ, धनगढी । दुई महिना अघि घरभित्रै मृत भेटिएका कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको उनकै श्रीमतीले हत्या गराएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रीमती जनककुमारीले बीमा रकम हत्याउन भारतीय नागरिकलाई प्रयोग गरी श्रीमानको हत्या गराएकी हुन् । अनुसन्धानको क्रममा प्रहरीले मृतक सियाराम रानाकी श्रीमती जनककुमारी र भारतीय नागरिक ३० वर्षीय फारुखलाई नियन्त्रणमा लिएको छ । राना आफ्नै घरभित्र १३ मंसिरमा मृत भेटिएका थिए ।

त्यसको भोलिपल्ट प्रहरीले उनकी श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा भारतीय नागरिकको समेत संलग्नता खुलेपछि प्रहरीले भारत उत्तर प्रदेशको लखिखमपुर खिरी जिल्लाको सम्पूर्णानगर बस्ने अन्दाजी ३० वर्षीय फारुखलाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले सियारामको हत्या उनकी श्रीमती जनककुमारी र भारतीय नागरिक फारुख मिलेर गरेको अनुसन्धानबाट खुलेको बताए । ‘भारतीय नागरिक फारुखले योजना बनाए पनि हत्या भने स्वयं श्रीमतीले नै गरेको बयान प्रहरीलाई दिएकी छन्,’ उनले भने । जनककुमारीका श्रीमान् सियाराम रानाले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेका थिए ।

उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरेको पाइएको डीएसपी जोशी बताउँछन् । सियारामकी श्रीमतीलाई जिल्ला अदालतले ८ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको छ भने हालै पक्राउ परेका भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार भारतीय नागरिक फारुखले नेपाल–भारत सीमाबाट तस्करीका सामान ओसारपसारको काम गर्दथे ।

यसैक्रममा जनककुमारी र फारुखबीच चिनजान भएको थियो । उनीहरुले सियाराम रानाको हत्या गरिसकेर शौचालयमा चिप्लिएर लड्दा मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएको थियो ।

टाउको र तालुमा चोट लागेको देखिएपछि घटना शंकास्पद भएको भन्दै प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटिएको थियो । खाटमुनि रगत लागेको ईंटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए ।

सोधपुछका क्रममा सियारामकी श्रीमती जनककुमारीले बिहान दुई जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईंटा प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी जोशीले बताए । त्यसपछि उनलाई पक्राउ गरेर मुुद्दा चलाइएको थियो ।

जनककुमारीमाथि अनुसन्धान गर्ने क्रममा भारतीय नागरिकसँग मिलेर हत्या गरेको तथ्य फेला परेपछि फारुखलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - ०९:५०:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology