काठमाडौं । सामाजिक अभियन्ताको परिचय बनाएकी आशिका तामाङ पक्राउ परेकी छन् ।
प्रहरीले उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरे ।
उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी लगिएको छ । अभिनेत्रीसमेत रहेकी आशिका पछिल्लो समय जनसरोकारका मुद्दामा पैरवी गरेर चर्चामा छिन् ।
उनले विभिन्न सरकारी तथा गैरसरकारी निकायमा हुने गतिविधिमाथि प्रश्न उठाउने गरेकी छिन् ।
पार्किङदेखि खानाका दररेट र गुणस्तरीयताको विषयमा आशिकाले गरेको पैरवीलाई धेरैले तारिफ पनि गरेका छन् । यद्यपि, कतिपय उनका गतिविधि सार्वजनिकरुपमै आलोच्यसमेत रहेको पाइन्छ ।