Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

आज माघे सङ्क्रान्ति चाँप फुल्ने यामबाट नामकरण कक्फेक्वा भएको येले संवतको पहिलो दिन

आज माघे सङ्क्रान्ति चाँप फुल्ने यामबाट नामकरण कक्फेक्वा भएको येले संवतको पहिलो दिन

images
आज माघे सङ्क्रान्ति चाँप फुल्ने यामबाट नामकरण कक्फेक्वा भएको येले संवतको पहिलो दिन
images

धरान : नेपाली समाजमा परम्परागत रूपमा मनाइँदै आएको माघे संक्रन्ति आज मङ्गलवार सनातनी हिन्दु धर्मावलम्बीहरूले मकर स्थान गरी धार्मिक पर्वको रूपमा मनाउँछन् । आदिवासी किरात राई, लिम्बु, सुनुवार, याक्खा समुदायले येले संवत् ५०८५ नयाँ वर्षको पहिलो दिनको रूपमा मनाउँदै छन् ।

येले नेपालको किराँतकालीन संवत हो । थारुहरू आज माघी मनाउँदै छन् । माघे संक्रान्तिलाई लिम्बुहरूले कक्फेक्वा तङनामको रूपमा मनाउँछन् । लिम्बु भाषामा चाँपलाई ककफुङ भनिन्छ । चाँप फुल्ने याम माघ महिना भएकोले कक्फेक्वा भनिएको मुन्धुममा पाइन्छ ।

प्रागैतिहासिक कालमा लिम्बु जातिले ऋतु परिवर्तनको नामकरण गर्दा चाँप फुल्ने यामलाई सूचक राखेर कक्फेक्वा राखिएको बुझिन्छ । लिम्बु जातिको येले तङबेका महिनाका नामहरू प्रकृतिका यामहरूसँग सम्बन्धित छन् । ऋतु परिवर्तनलाई पर्वको रूपमा मनाउने सङ्क्रान्तिकै आधारमा प्राग इतिहासकलामा संवत्को सुरुआत गरिएको विद्वानहरूको कथन पाइन्छ । येले संवत् नेपालमा किरातकालीन शासनका बेला प्रचलित रहेको इतिहास छ । येले संवतको बारेमा पछिल्लो समय भएका खोज अनुसन्धानले किटान गरेको यसको काल निर्धारणमा नयाँ वर्ष मनाउनेहरू बिच मतभेद कायमै छ ।

ऐतिहासिक तथ्यको काल गणनामा संशय विद्यमान रहेको अवस्थामा यसपालि चल्दै आएको गणना अनुसार येले संवत् ५०८५ मनाइँदै छ । येले संवत्को आधिकारिक गणनाको बहस विसं २०६५ देखी भएको हो । प्राज्ञ अमर तुम्याहाङ अनुसार सन २००९ मा प्राज्ञ वैरागी काइँलाको पहलमा भएको किरात येले संवत् अन्तर्राष्ट्रिय गोष्ठीले निष्कर्ष सहित येले संवत् घोषणापत्र-२००९ जारी गर्‍यो ।

२०६७ मङ्सिर २८ मा येले संवतको काल निर्धारण गर्न गोपालराज वंशावलीलाई मुख्य आधार मान्ने निर्णय गर्दै इतिहासकार प्राडा. जगदीशचन्द्र रेग्मीद्वारा २०६६ मा प्रस्तुत ३१ औँ किरात राजा खुरांजको शासन काल १८ वर्ष उल्लेख भएको तर मञ्जुल याक्थुङबाले उक्त शासन काल १८ वर्ष नभई ७८ वर्ष भएको राय राखेपछि काल गणनामा मतभेद देखिएको थियो । मतभेदलाई टुङ्गो लगाउन त्यस बेला सत्य तथ्य प्रमाण हेरी स्रोत व्यक्तिहरू र किरात येले संवत अध्ययन समन्वय समितिको संयुक्त पहलमा किटान गरी किरात समन्वय समितिमा पेस गर्ने निर्णय भएको थियो ।

सोही अनुसार सन् २०१० मा प्राडा रेग्मी, मञ्जुल र शङ्कर साम्पाङ राईले राष्ट्रिय अभिलेखालयको आधारमा ३१ औँ किरात राजा खुरांजको शासन १८ वर्ष नभई ७८ वर्ष हो भन्ने पुष्टि गरे । इतिहासकार तथा लिपि विशेषज्ञ ऐश्वर्यधर शर्मा, लिपि विशेषज्ञ सिद्धि रत्न शाक्य, अभिलेखालय प्रमुख भीम नेपाल र अनुसन्धान अधिकृत राजु रिमालको रोहबरमा बसेर गरिएको गोपालराज वंशावलीको मूलप्रतिको परीक्षणबाट उक्त तथ्यको पुष्टि भएको थियो ।

तर, यसअघि मनाउँदै आएको येले सम्बत काल र नयाँ निर्धारित कालमा झण्डै २ हजार वर्षको फरक रहेपछि यो सम्बत मनाउँदै आएका किरात समुदाय सम्बद्ध सङ्गठनहरूले प्रचलनमा रहेको काललाई नै आधार मानेर नयाँ वर्ष मनाउँदै आएका हुन । ऐतिहासिक तथ्यहरूको अनुसन्धानले किटान गरेको काललाई मान्ने हो भने यसपालि येले संवत् ३०८५ मात्र हुन्छ ।

जातीय सङ्गठनहरूले संवत्को काल २ हजार वर्ष घटेकाले काल गणनामा ऐतिहासिक तथ्य आधारको खोजीमा त्रुटि भएका छ र यसमा थप अनुसन्धान गर्न आवश्यक भएको बताउँदै आएका छन् । काल गणनाको यो मतान्तर नेपालमा किरात काल ५ हजार वर्ष पहिले थियो कि ३ हजार वर्ष पहिले थियो भन्ने प्रश्नसँग पनि जोडिएको छ ।

पछिल्लो समय मुलुकमा पहिचानको राजनीतिक सवालले पनि संवत्को बहसलाई महत्त्वपूर्ण बनाएको छ । किरात, लिम्बुवान, खम्बुवान, मगरात लगायतका नाम, शब्दहरू नेपालको इतिहासमा प्रचलित थिए । इतिहासको अध्ययनहरूमा अहिले पनि पढिन्छ, पढाइन्छ । तर राजनीति र राज्यको नीतिमा यसलाई ऐतिहासिक तथ्य मान्न इन्कार गर्ने निषेधकारी विचारहरू हाबी भएका छन् ।

images
प्रकाशित मिति :माघ २, २०८१ बुधवार - ००:०४:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology