Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हत्या मुद्दाका दोषी ४० वर्षपछि पक्राउ

हत्या मुद्दाका दोषी ४० वर्षपछि पक्राउ

इच्छाकामना न्युज

२८, पौष २०८१
हत्या मुद्दाका दोषी ४० वर्षपछि पक्राउ
images

२८ पुस, जनकपुरधाम । १६ चैत २०४१ मा रौतहटका लेखापढी व्यवसायी ललन सिंहको हत्या भयो । घटनाको १६ वर्षपछि २६ फागुन २०५७ रौतहट जिल्ला अदालतले हत्यामा चारजनालाई दोषी ठहर गर्दै सजायको फैसला गर्‍यो । कैद सजाय पाएकामध्ये तीनजना फरार थिए । लामो समयदेखि प्रहरीले उनीहरूको खोजी गरिरहेको थियो ।

images
images

केही दिनअघि प्रहरीले सूचना पायो, ‘ललन सिंहको हत्यमा कैद सजाय पाएका राजु सिंह सर्लाहीको चक्रघट्टामा बसिरहेका छन् ।’ प्राप्त सूचना पछ्याउँदै प्रहरी चक्रघट्टा गाउँपालिका– ४ को सुन्दरपुर पुग्यो । त्यहाँ एकजनालाई नियन्त्रणमा लियो ।

प्रहरी त्यतिवेला चकित पर्‍यो, जब नियन्त्रणमा लिइएका व्यक्तिले आफू राजु नभई मोहम्मद सराज राइन भएको परिचयपत्र देखाए । त्यही नामको नागरिकतासमेत देखाए । प्रहरी अन्योलमा पर्‍यो । तर, सूचना दिनेले पहिचान र धर्मसमेत परिवर्तन गरेर बसेको सूराक दिएकाले प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढायो ।

प्रहरीको नियन्त्रणमा परेपछि भने ती व्यक्तिले आफ्नो वास्तविक परिचय धेरैबेर लुकाउन सकेनन् । र, भने, ‘म राजु सिंह नै हुँ । तर, हत्यामा मेरो कुनै संलग्नता छैन ।’

राजु तिनै व्यक्ति थिए, जसका बाबु रत्नेश्वरप्रसाद सिंह पनि ललन सिंहको हत्या अभियोगमा २० वर्षको कैद सजाय पाएका थिए । र, कैद भुक्तान गरेर २०७७ मा रिहा पनि भए ।

घटनालगत्तै आरोपितहरू रत्नेश्वर, उनका छोरा राजु, नागेश्वर महरालगायत फरार भएका थिए । भागेर भारत पुगेका उनीहरूमध्ये रत्नेश्वरलाई प्रहरीले पक्राउ गरेर ल्यायो । बाँकी फरारै रहे ।

राजुले पक्राउपछि प्रहरीलाई दिएको बयानअनुसार फरार भएपछि उनले भारतमा बसेर बसको खलासीको काम गरे । केही वर्षपछि सर्लाहीको चक्रघट्टा गाँगपालिका ४ सुन्दरपुर फर्के । त्यहाँ घर बनाए ।

रौतहटको राजदेवी नगरपालिका– ९ (साविक ब्रह्मपुरी गाविस– १) घर भएका लेखापढी व्यवसायी सिंहको हत्यापछि पत्नी धुपकली देवीको जाहेरीमाथि अनुसन्धान गर्दै प्रहरीले चारजनालाई प्रतिवादी बनाई रौतहट जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । तर, प्रहरी नियन्त्रणमा रहेका रत्नेश्वरले मात्र कैद सजाय भोगे । अरु फरार कैदीहरूको खोजी भइरहेको थियो ।

राजुले आफ्नो परिचय फेरे । धर्मसँगै नाम पनि परिवर्तन गरे । उनले हिन्दु धर्म परिवर्तन गरी मुस्लिम धर्म अपनाए भने राजु सिंह नामलाई मोहम्द सराज राइनमा परिवर्तन गरे । ‘घटनाको केहीवर्षसम्म फरार भएर म भारतको विहारमै बसमा खलासीको काम गरे । करिब ३० वर्ष भयो । म सुन्दरपुर फर्के । त्यहाँ मैले धर्म परिवर्तन गरी मुस्लिम बने । विवाह गरे । नागरिकता बनाएँ,’ प्रहीलाई बयानको क्रमममा उनले भनेका छन् ।

झुटो विवरण पेश गरी नागरिकता
नाम र धर्मसमेत परिवर्तन गरेपछि उनले झुटो विवरण पेश गरी नागरिकता पनि लिए । प्रहरीका अनुसार नागरिकता लिने क्रममा उनले बुबाको नाम मो. खलिफ राखेर मो. सराज राइनको नामबाट नागरिकता लिएका थिए ।

‘मेरो सुरुको नाम राजु सिंह हो । बुबा रत्नेश्वर हुनुहुन्छ । यहाँ नागरिकता लिँदा बुबाको नाम मो. खलिफ राखेको छु । त्यस नामको व्यक्ति कोही हुनुहुन्न । यतिकै नाम राखे’ उनले प्रहरीलाई बयान दिएका छन् ।

उनले दुईवटा विवाहसमेत गरे । राजुका अनुसार पहिलो बिहे सबिला नाम गरेकी महिलासँग गरेका थिए । उनले छाडेर हिँडेपछि सबिना नाम गरेकी अर्की महिलासँग विवाह गरे ।

उनले हत्याको घटनामा भने संलग्नता नरहेको जिकिर गरेका छन् । ‘म बालक नै थिएँ । त्यो घटनामा मेरो संलग्नता छैन । त्यस घटनामा बुबाको संलग्नता थियो । उहाँ जेल सजाय काटिसक्नु भएको छ,’ बयानमा उनले खुलाए ।

राजुलाई प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोली र सिरहाका प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवान नेतृत्वको टोलीले पक्राउ गरेको हो । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार अनुसन्धानपछि फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत पठाइएको छ ।

images
प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - १७:११:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology