Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

विश्व तापक्रम युगकै उच्च, हिमालको हिउँ बढी पग्लने र वातावरण सकिने अनुमान

विश्व तापक्रम युगकै उच्च, हिमालको हिउँ बढी पग्लने र वातावरण सकिने अनुमान

images

इच्छाकामना न्युज

२८, पौष २०८१
विश्व तापक्रम युगकै उच्च, हिमालको हिउँ बढी पग्लने र वातावरण सकिने अनुमान
images

चाँदनी हमाल

काठमाडौँ, पुस २८ गते । विश्वको औसत तापक्रमले नयाँ कीर्तिमान कायम गरेसँगै विश्वमा जलवायुजन्य प्रकोपको चुनौती थप उच्च हुने भएको छ । सन् २०२३ मा देखिएको विश्वव्यापी उच्च तापक्रमको रेकर्ड मात्र होइन, औद्योगिक युगको उच्च तापक्रमको रेकर्ड सन् २०२४ को तापक्रमले तोडेको छ । 

विगत ८५ वर्षको अन्तरालमा वृद्धि भएका औसत तापक्रमहरूको पनि रेकर्ड तोड्दै सन् २०२४ मा औसत तापक्रम १५.१० डिग्री सेल्सियस कायम भएको हो । मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठले यो लक्षण विश्वकै लागि गतिलो नरहेको औँल्याउनुभयो । उहाँका अनुसार यसले अबका दिनमा जलवायु परिवर्तनको प्रभाव उच्चस्तरमा देखिने दर्शाउँछ । उहाँले भन्नुभयो, “विकसित मुलुकको व्यवहार हेर्दा कार्बन उत्सर्जन घटाउने कार्यक्रम छैन, बरु झन् बढाउनेतिर गइरहेका छन् ।” 

तापक्रम वृद्धिको प्रवृत्ति डरलाग्दो देखिएसँगै विश्वव्यापी प्रयास भने कमजोर देखिएको श्रेष्ठले बताउनुभयो । तापक्रम वृद्धिले ल्याउने जलवायु परिवर्तनको नोक्सानीको क्षतिपूर्ति दिनुभन्दा पहिल्यै रोकथाम गर्नु राम्रो भन्ने कुरा विकसित मुलुकले नकारेको देखिएको उहाँले आरोप लगाउनुभयो । यो विश्वमा औद्योगिकीकरणको सुरुवातताकाको तापक्रमभन्दा उच्च हो । 

युरोपियन युनियनको कपर्निकस क्लाइमेट चेन्ज सर्भिससहित छ वटा संस्थाले सामूहिक रूपमा गरेको अध्ययन प्रतिवेदन अनुसार औद्योगिकीकरणका क्रममा सन् १८५०–१९०० सम्मको पाँच दशकमा देखिएको उच्च तापक्रमभन्दा बढी हो । औद्योगिकीकरणको समयमा वार्षिक विश्वव्यापी औसत तापक्रमको वृद्धि १.५ डिग्री सेल्सियसलाई आधार मानेर त्यसमै सीमित गर्न सन् २०१५ मा पेरिस सम्झौता भएको थियो । त्यस्तै सन् १९९१ देखि सन् २०२० को दशकमा देखिएको औसत तापक्रमभन्दा ०.७२ डिग्री सेल्सियसले बढी हो । 

जलवायुविज्ञ मञ्जित ढकालले जुन हिसाबले तापमान बढ्छ भनिएको थियो, त्यही हिसाबले बढ्दै गएको औँल्याउनुभयो । त्यही प्रकारले अब जलवायुजन्य प्रकोपहरूको जोखिम उच्च हुने देखिएको उहाँले प्रस्ट्याउनुभयो । 

उहाँले भन्नुभयो, “एक डिग्री औसत तापक्रम बढ्दा प्रत्येक १० वर्षमा एक पटक ठुलो बाढी जान्थ्यो भने अब तापक्रमसँगै जलवायुजन्य प्रकोपको गति र सङ्ख्या दुवै बढ्ने छ ।” तापक्रम हरेक वर्ष नयाँ रेकर्ड कायम गर्दै जाने हो भने अब वर्षको तीनदेखि चार पटक ठुलो बाढी र त्यही अनुसारको सुक्खा खडेरी जाने अनुमान ढकालले गर्नुभयो । 

उहाँले थप्नुभयो, “एउटा किसानले तीन/चार पटक बाढी र सुक्खा लाग्यो भने उसले के गर्ने अनि त्यसले हाइड्रोपावर र अन्य उद्योग उत्पादन, व्यवसायमा पनि उस्तै असर पार्छ ।” पेरिस सम्झौता अनुसार १.५ मा सीमित पार्ने भनिएको लक्ष्य प्राप्त गर्न अझै मेहनत र प्रतिबद्धता आवश्यक रहेको उहाँले बताउनुभयो । 

त्यसका लागि ठुला ऊर्जा केन्द्र चलाएर कार्बन उत्सर्जन बढी गर्ने विकसित मुलुकले घटाउनै पर्छ । उहाँका अनुसार विश्वमा जी–ट्वान्टी र जी–सेभेन देशहरूले विश्वको ८५ प्रतिशत कुल गार्हस्थ उत्पादन नियन्त्रण गर्छ । उनीहरूले नै ८० प्रतिशत कार्बन उत्सर्जन गर्छन् । त्यसैले जिम्मेवार बढी उनीहरू नै हुनुपर्नेमा ढकालले जोड दिनुभयो । यसरी हरेक वर्ष तापक्रमले नयाँ रेकर्ड कायम गर्नुले पनि उनीहरूले प्रतिबद्धता पूरा गर्न तत्परता नदेखाएको प्रस्ट पारेको दाबी गर्नुभयो । आफ्नो कार्बन उत्सर्जन घटाउने मात्र होइन, नयाँ प्रविधि र स्वच्छ ऊर्जा प्रयोगमा ध्यान दिनैपर्छ । नत्र विश्वव्यापी जलवायु अवस्थितिमा असन्तुलन आउँछ । ठुलो बाढी धेरै पटक आउने र त्यसमा ठुलो पानीको घनत्व रहँदा जनजीवनमा कडा असर पार्छ ।

ढकालका अनुसार तापक्रम १.५ डिग्री बढ्दा जलवायुजन्य प्रकोपको परिपूरण जति अब चाहिन्थ्यो त्योभन्दा बढी चाहिने अवस्था आएको छ । जलवायुवित्त उपलब्ध गराएर मात्र पुगेन । पेरिस सम्झौता अनुसार स्वच्छ ऊर्जामा रूपान्तरण हुँदै जाने प्रतिबद्धता अनुसार चल्नुपर्ने हो । अझै पनि सबै देशले देशीय प्रतिबद्धता कार्यान्वयन गरेकोे खण्डमा २०१९ को तुलनामा २०३० सम्म ०.३ प्रतिशत कार्बन उत्सर्जन घट्ने अनुमान गरिएको छ । 

नयाँ तापक्रम रेकर्डको असर नेपाल जस्तो हिमाली मुलुकका लागि अति घातक रहेको मौसम वैज्ञानिक मदनलाल श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँको हिमालको हिउँ बढी पग्लने र सकिने वातावरण बन्दै छ, त्यो भनेको हाम्रो जीवन मासिनु हो ।” 

जलवायुविज्ञ ढकालले नेपालले वन जोगाउँछु र स्वच्छ ऊर्जा उपयोग गर्छु भनेर काम गरिरहेको बताउनुभयो । विकसित मुलुकले त्यसो नगर्दा नेपालको मेहनतले खासै काम गर्दैन । नेपालको अधिकतम तापमान ४५ वर्षमा २.५ डिग्रीले बढ्दै छ, जसले गर्मी बढाउँदै छ तर न्यूनतम तापक्रम त्यति बढेको छैन । कपर्निकसको प्रतिवेदनले एसिया क्षेत्रको तापक्रम आगामी दिनमा बढ्दै जाने क्रममा रहेको औँल्याउनुले खतरा बढेको दर्शाउँछ ।   

images
प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - ०९:५४:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology