Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

काठमाडौं–नागढुंगा–मुग्लिन सडक स्तरोन्नतिको काम सुस्त

काठमाडौं–नागढुंगा–मुग्लिन सडक स्तरोन्नतिको काम सुस्त

images

इच्छाकामना न्युज

११, पौष २०८१
काठमाडौं–नागढुंगा–मुग्लिन सडक स्तरोन्नतिको काम सुस्त
images

काठमाडौँ । काठमाडौं- नागढुंगा- मुग्लिन सडकलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम अघि बढाइए पनि निर्माणको गति सुस्त छ । यो सडक खण्डमा साना–ठूला गरी दैनिक १५ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन् ।

हाल आंशिक रूपमा सडक बन्द गरेर स्तरोन्नतिको काम अघि बढाइएको छ । पुस ७ देखि १३ सम्म बिहान ११ देखि दिउँसो २ बजेसम्म सवारी आवागमन रोकेर अप्ठ्यारा पहाड कटिङ र घुम्ती सुधार गरी सडक चौडा पार्ने काम भइरहेको आयोजनाले जनाएको छ । सवारी आवागमनमै असर पर्ने गरी स्तरोन्नतिको काम अगाडि बढाइए पनि कामको प्रगति न्यून छ ।

काठमाडौं–मुग्लिनसम्मको सडक स्तरोन्नतिको काम तीन वटा प्याकेजमा भइरहेको छ । तीन वटै प्याकेजको ठेक्काका लागि विश्व बैंकबाट सहुलियतपूर्ण ऋण लिइएको छ । पहिलो प्याकेजका रूपमा नागढुंगा–नौबिसे खण्ड हो, जसको दूरी १२.२६ किलोमिटर छ । १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीसँग २०७८ चैत २९ मा उक्त खण्डको निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको हो । काम भने सम्झौताको करिब डेढ वर्षपछि २०७९ जेठ २६ मा मात्र सुरु भयो ।

सम्झौताअनुसार २०८१ जेठ २७ भित्र काम सम्पन्न भइसक्नुपर्ने थियो । तर भनेको समयमा काम नसकिएपछि २०८१ माघसम्मका लागि म्याद थपिएको छ । अहिलेसम्मको प्रगति ६२ प्रतिशत मात्र छ । निर्माण प्रगतिबारे मासिक रूपमा पुनर्विचार गर्दै आएको र त्यहीअनुसार कामको गति बढाउन निर्माण व्यवसायीलाई दबाब दिइरहेको नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।

‘पहिलो खण्डको म्याद सकिन लागेको छ, म्याद थप गर्ने/नगर्ने भन्नेबारे परामर्शदाताले रिपोर्ट दिएपछि मात्र प्रक्रिया अघि बढ्छ,’ ओझाले भने, ‘त्यसपछि कति म्याद थप गर्ने भन्नेबारे निर्णय हुन्छ ।’ अहिले पहिलो खण्डमा कालोपत्रको काम हुँदै छ ।

‘सामान्य टेवा र पर्खालको काम केही–केही स्थानमा हुँदै छ,’ उनले भने, ‘अहिलेसम्म पहिलो तहको साढे ५ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।’ दोस्रो तहको कालोपत्र गर्ने तयारी भइरहेको उनले बताए । ‘तेस्रो तहसम्मको कालोपत्रको काम हुन्छ,’ ओझाले भने, ‘पहिलो तहको कालोपत्र भने मोटो हुन्छ, त्यहीअनुसार गरिएको छ ।’ पहिलो खण्डमा पहाड कटिङ र घुम्ती सुधारको काम भइरहेको छ ।

यस खण्डमा २ वटा पक्की पुल पनि निर्माण हुँदै छ । दोस्रो प्याकेज नौबिसे–मलेखु खण्ड हो, जसको दूरी ४३.५४ किमि छ । ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा जेडआईसीजी–शर्मा–लामा जेभीले यसको ठेक्का लिएका हुन् । २०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको यो खण्डको काम २०८२ जेठ २७ भित्र सकिसक्नुपर्नेछ । तर अहिलेसम्म भौतिक प्रगति भने २६ प्रतिशत मात्र छ ।

images
प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - ०९:५७:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology