Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

वैदेशिक रोजगारीको पीडा, पाँच महिनामा १९ करोड ठगी

वैदेशिक रोजगारीको पीडा, पाँच महिनामा १९ करोड ठगी

images
वैदेशिक रोजगारीको पीडा, पाँच महिनामा १९ करोड ठगी
images

काठमाडौँ, पुस ९ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजारभन्दा बढीको ठगी भएको छ ।

सो विवरण वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारको हो । यस अवधिमा चार हजार ८८ वटा ठगीका उजुरी दर्ता भएका छन् र तिनबाट माथि उल्लेख भएको क्षतिपूर्ति असुल भएको छ । ठगीमा पर्ने अधिकांश व्यक्ति घरगाउँकै दाजुभाइ, दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिएका छन् ।

यो तथ्याङ्क उजुरीमा परेका आधारको हो तर सबै ठगिनेले उजुरी गर्दैनन् । यस आधारमा ठगीमा पर्ने अरू बढी रहेको अनुमान विभागको छ । विभागमा परेका उजुरी फस्र्योट पनि हुने गरेका छन् । विभागका अनुसार आधाभन्दा बढी फस्र्योट भएका छन् ।

चालु आव २०८१/८२ मा दर्ता भएका उजुरीमध्ये दुई हजार १११ वटा (५१.८९ प्रतिशत) फस्र्योट गराउँदा १९ करोड ३९ लाख ८६ हजार ३० रुपियाँ बराबर क्षतिपूर्ति भराइएको छ । विभागका अनुसार सो अवधिमा उजुरी परेकामध्ये सबैभन्दा धेरै प्रहरी शाखामा एक हजार ७०८ वटा छन् । जसमध्ये एक हजार ६४४ वटा उजुरी फस्र्योट भए भने ११ वटा उजुरीमा मिलापत्र गराइएको छ । यसमा ११ लाख ५४ हजार पाँच सय रुपियाँ बराबरको रकम क्षतिपूर्तिबापत भराएको विभागले जनाएको छ ।

प्रहरीमा दर्ता भएका ६६ वटा फस्र्योट हुन बाँकी छन् । यसै गरी सो अवधिमा मुद्दा तथा अनुसन्धान शाखामा एक हजार ५६१ वटा उजुरीको १४ करोड ६७ लाख ६१ हजार ५३० रुपियाँ दाबी गरिएको छ । सो शाखामा परेका उजुरीमध्ये २६० वटा उजुरीको मिलापत्र भएका छन् भने ७८ वटा उजुरी अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ । त्यसै गरी उद्धार, राहत तथा समन्वय शाखामा ८२० वटा उजुरी परेकामा ४७७ वटा फस्र्योट भएका छन् । सो शाखामा यस अवधिमा परेका उजुरीमध्ये ३७६ वटा उजुरीमा चार करोड छ लाख ७० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराइएको छ ।

विभागका महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै छ । उहाँका अनुसार वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भनेर आउने उजुरी सबैभन्दा बढी व्यक्तिगततर्फका रहेको र रकम पनि व्यक्तिगतकै बढी हुने गरेको छ ।

महानिर्देशक खत्रीले उजुरी हेर्दा पछिल्लो पटक व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखेकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठुलो परिणामको हुने गरेको बताउनुभयो । व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा वैदेशिक रोजगार कम्पनी, कन्सल्टेन्सी, ट्राभल एजेन्सीबाट ठगिए पनि सबैभन्दा बढी एजेन्टबाट ठगिने गरेको उहाँको भनाइ छ ।

विभागमा खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानाडा, पोर्चुगल, पोल्यान्ड जस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठुलो छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको छ ।

विभागका अनुसार वैदेशिक रोजगार कम्पनीका नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छ तर व्यक्तिगत उजुरी भने कानुनको दायरमा बढी जाने गरेको छ । ७८ वटा मुद्दा दायर विभागका अनुसार चालु आवमा परेका उजुरीमध्ये ७८ वटा मुद्दा अदालतमा दायर भएका छन् ।

जसमा अधिकांश व्यक्तिगत ठगीविरुद्धका छन् । सात/आठ वटा कन्सल्टेन्सी, ट्राभल एजेन्सी र संस्थाविरुद्धका पनि मुद्दा छन् । अदालतमा दायर भएका मुद्दाको नौ करोड रुपियाँभन्दा बढी क्षतिपूर्ति रकम दाबी भएको विभागले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - ०९:३८:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology