Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

प्राविधिकद्वारा कृष्णभिर पहिरो अध्ययन गरिँदै

प्राविधिकद्वारा कृष्णभिर पहिरो अध्ययन गरिँदै

images
प्राविधिकद्वारा कृष्णभिर पहिरो अध्ययन गरिँदै
images

चितवन, पुस ४ गते । मुग्लिङ - मलेखु सडकखण्डको कृष्णभिरमा प्राविधिकको अध्ययन टोलीले दिएको प्रतिवेदनका आधारमा मात्र विस्तारको काम हुनेभएको छ ।

 

चौबिस वर्ष अगाडि पहिरो गएर समस्या भएको कृष्णभिरमा अहिले पनि पहिरोको जोखिम कायमै रहेपछि प्राविधिक टोलीले विस्तृत अध्ययन गरेर मात्र के कति मात्रामा पहाड काट्ने भन्ने निर्णय हुने छ ।

२०५७ साल साउनमा आएको पहिरोले कृष्णभिरमा केही हप्ता सवारीसाधन चल्न बन्द भएको थियो । पुरानो सडकको क्षेत्र पुरिएपछि नयाँ स्थानबाट सडक निर्माण गरिएर बाटो खुलाइएको थियो । त्यही स्थानमा सडक भासिएर पहिरो जान थालेपछि पछिल्लो अवस्थाको बारेमा अध्ययन गरेर मात्र पहाड काट्ने निर्णय लिने नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिमखण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिनुभयो । अबको दुई महिनापछि अध्ययन प्रतिवेदन आउँछ, त्यसपछि मात्र के गर्ने भन्ने निर्णय हुन्छ, सूचना अधिकारी मिश्रले बताउनुभयो ।

पहिरो रोक्न प्राकृतिक रोकथाम गरिएको छ । बिनाअध्ययन पहाड खन्दा समस्या आउन सक्छ, त्यसैले पर्खेका छाँै, उहाँले भन्नुभयो । कठिन स्थानमा विस्तार गर्न ढिलाइ विस्तार कार्य भइराखेको पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिङ सडकखण्ड अन्तर्गत पश्चिम क्षेत्रको विभिन्न स्थानमा ठुला पहाड भएका कारण छिटो काम गर्न समस्या भएको छ । फिसलिङ, कुरिनटार, मुग्लिङ, मलेखुलगायतका बस्ती भएको स्थानमा सडक विस्तार गर्न कुनै समस्या छैन । अन्य स्थानमा भने ठुला पहाड कटान गर्न कठिन भएको कारण कामको प्रगति सुस्त भएको सूचना अधिकारी मिश्रले भन्नुभयो । बर्सातले गर्दा असार, साउन, भदौ र असोज महिनामा काम रोकिएको थियो ।

चार महिनामा साना मसिना काम भएपछि विस्तारको काम भने अघि नबढेको आयोजना कार्यालयले जानकारी दिएको छ । कात्तिक महिना लागेपछि विस्तारलाई अगाडि बढाइएको थियो । मुग्लिङदेखि मलेखुसम्मको ४० किलोमिटर सडकको विस्तारको कामको निरीक्षण नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिमखण्ड) ले लिएको छ । यस कार्यालयको क्षेत्रमा छ वटा ठुला पुलको निर्माण कार्य जारी रहेको छ । छ वटै पुलको पिल्लर उठेको छ । डेडिकेटेड डबल लेनमा विस्तार गर्ने यो सडक मुग्लिङ नारायणगढको जस्तै चौडाइ रहने छ ।

बजार क्षेत्रमा भने चार लेनको निर्माण गरिने छ । साँघुरो स्थानमा कम्तीमा नौ मिटर फराकिलो बनाइने छ । अन्य स्थानमा चार लेनको बनाइने गरी दायाँबायाँको अवरोध हटाउने काम भइरहेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । अहिलेसम्म निर्माणको प्रगति हेर्दा १७ प्रतिशत सम्पन्न भएको छ । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति गर्ने पश्चिम क्षेत्रको कार्य क्षेत्रमा परेको छ । नागढुङ्गादेखि मुग्लिङसम्मको ९५ किलोमिटर सडक स्तरोन्नति भइराखेको छ । पश्चिम क्षेत्रमा भने ४० किलोमिटरको काम रहेको छ ।

बाँकी धादिङ कार्यालयले हेर्ने गरी विभाजन गरिएको छ । पश्चिम क्षेत्रका लागि शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्ने ठेक्का पाएको छ । यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्दैछन् । यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिने छन् ।

मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, मझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिङमा आकाशे पुल निर्माण गरिने छन् । यस क्षेत्रको ठेक्का सम्झौता अनुसार चार अर्ब ८० करोड रुपियाँको लागतमा निर्माण हुने छ ।

मुग्लिङ–नारायणगढ सडकखण्डमा पहाड काट्दा पहिरोको समस्या भएकाले यस क्षेत्रमा भने पहाडलाई भन्दा त्रिशूली नदीतर्फको भागमा पर्खाल लगाएर सडक फराकिलो बनाउने कामलाई प्राथमिकता दिने आयोजनाले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :पौष ४, २०८१ बिहिवार - ०९:३७:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology