काठमाडौँ — हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छभने राति मौसम सफा रहने छ ।
शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
यसैबीच, काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे ३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो बैशाख पछिको कम तापक्रम हो । हिजो र अस्ति काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री सेल्सियस थियो ।