Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

काम छिटो सक्न माग गर्दै चक्काजाम

काम छिटो सक्न माग गर्दै चक्काजाम

images

इच्छाकामना न्युज

२३, मंसिर २०८१
काम छिटो सक्न माग गर्दै चक्काजाम
images

नवलपुर, मङ्सिर २३ गते । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम छिटो सक्न माग गर्दै स्थानीयले नवलपुरको कावासोती–१६ डन्डामा आधा घण्टा चक्का जाम गरेर सडक अवरुद्ध गरेका छन् ।

डन्डा बजार व्यवस्थापन समितिको नेतृत्वमा शनिबार आधा घण्टा सडक अवरुद्ध गरिएको हो । बजार व्यवस्थापन समितिका अध्यक्ष हरि केसीले पाँच वर्ष अघिदेखि भत्काएर राखेका सडक अझै मर्मत नगरेको र कालोपत्रे गर्न ठिक्क परेका ठाउँमा पनि एक वर्षदेखि कालोपत्रे नगरेर धुलो उडाउने बनाएकाले सडक अवरुद्ध गरिएको बताउनुभयो ।

उहाँले प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले डन्डाका स्थानीय र सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिबिच छलफल गराउने प्रतिबद्धता जनाएपछि अवरुद्ध सडक खुलाएको बताउनुभयो । तत्काल डन्डा आसपासको सडक कालोपत्रे नगरे पुनः आन्दोलनमा उत्रिने स्थानीयले चेतावनी दिएका छन् । 

प्रमुख जिल्ला अधिकारी पोख्रेलले यही हप्ताभित्र ठेकेदारलाई बोलाएर कुरा गर्ने बताउनुभएको छ । सरकारले नै दुई वटा विकल्प दिएर चिनियाँ ठेकेदारलाई चेतावनी दिइसकेकाले थोरै भए पनि काम गर्छ कि भन्ने आशा पलाएको उहाँको भनाइ छ । सरकारले यही डिसेम्बर अन्तिमसम्म चार लेनमध्ये दुई लेन सडक सम्पन्न गरिसक्नुपर्ने छ  र सन् २०२५ मार्चसम्म पूरै बाटो एकतर्फी विस्तारको काम सक्नु पर्ने विकल्प दिएको छ । यी विकल्प अनुसार काम नभए ठेक्का सम्झौता तोड्ने नेपाल सरकारको चेतावनी छ ।

आठ करोड भुक्तानी

यसैबिच चिनियाँ ठेकेदार कम्पनीले नेपाली ठेकेदारलाई आठ करोड रुपियाँ भुक्तान गरेको छ । नेपाल रोडा, ढुङ्गा व्यवसायी समिति, नवलपुरका अध्यक्ष भोजेन्द्र रायमाझीले आठ करोड रुपियाँ भुक्तान गरेको र रोडा ढुङ्गा व्यवसायीको मात्र अझै ३५ करोड रुपियाँ भुक्तानी पाउन बाँकी रहेको बताउनुभयो । 

चिनियाँ ठेकेदारले सडकखण्ड विस्तारका क्रममा प्रयोग भएका सामग्रीको रकम नदिएको भन्दै नेपाली उद्योगी व्यवसायीले आन्दोलन गरेका थिए । क्रसर व्यवसायी र ढुङ्गा, गिट्टी, बालुवा सप्लायर्सले चिनियाँ ठेकेदार कम्पनीको पश्चिम खण्डमा धर्ना दिएर १५ दिनभित्र रकम भुक्तान गर्न चेतावनी दिएका थिए । १५ दिनमा नदिए पनि झन्डै डेढ महिनामा यो रकम भुक्तान गरेको हो । 

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घका उपाध्यक्ष रामु अधिकारीका अनुसार ढुङ्गा, गिट्टी र बालुवाका १३ वटा सप्लायर्स र क्रसर व्यवसायीको ७५ करोड, पेटी ठेकेदारको २० करोड र ढुवानीका लागि प्रयोग भएका एक्साभेटरसहितका सवारीसाधनको पाँच करोड गरेर एक अर्बभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको थियो । यसमा बिटुमिन र छडवालाले पाउनुपर्ने रकम नजोडिएको उपाध्यक्ष अधिकारीको भनाइ छ । 

हालसम्म पूर्वी र पश्चिम दुवै खण्ड गरेर झन्डै ५४ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुखले जनाएका छन् । ११३ किलोमिटर लामो सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रूपियाँमा ठेक्का सम्झौता भएको थियो । गत साउन १० गते एक वर्षका लागि तेस्रो पटक थपिएको म्याद चार महिना बित्नै लाग्दा पनि सोचे अनुसार सडक विस्तार हुन सकेको छैन । 

२०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो । सोही सम्झौता अनुसार २०७५ साल चैतमा बाटोको शिलान्यास गरिएको थियो ।

images
प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १२:४१:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology