Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धार्मिक सहिष्णुताको उदाहरणः मुस्लिम मदरशा बनाउन हिन्दुले गरे जग्गादान

धार्मिक सहिष्णुताको उदाहरणः मुस्लिम मदरशा बनाउन हिन्दुले गरे जग्गादान

रासस

३, फाल्गुण २०७७
धार्मिक सहिष्णुताको उदाहरणः मुस्लिम मदरशा बनाउन हिन्दुले गरे जग्गादान
images

झापा, ३ फागुन । झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गर्नुभएको छ । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले रु १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिनुभएको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिनुभयो । अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्याइने र मदरसा भवन निर्माण गरिने मदरसाका प्रमुख अफरोज खानले बताउनुभयो ।

images
images

हाल स्थानीय मस्जिदमा कक्षा ४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ । जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा १२ सम्म पठनपाठन हुनेगरी मदरसाको भवन निर्माणका लागि सबै धार्मिक समुदायका दाताहरुलाई आह्वान गरिएको अध्यक्ष खानले बताउनुभयो । सो क्षेत्रमा मुस्लिम समुदायका १५० परिवार बसोबास गर्दै आएको छ । नजिक कुनै विद्यालय नभएको हुँदा मुस्लिम समुदायका सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन मदरसा स्थापना गरिएको वडाध्यक्ष भोजराज सिटौलाले बताउनुभयो ।

समाजसेवी प्रसाईं हिन्दू हुनुहुन्छ । उहाँको जग्गादानले नेपाली समाजमा परापूर्वकालदेखि कायम रहँदै आएको हिन्दू–मुस्लिमबीचको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई उजागर गरेको स्थानीय पत्रकार विजय बरालले बताउनुभयो । जग्गादाता प्रसाईलाई आइतबार एक समारोहबीच मदरसाले सम्मान गरेको छ । मुस्लिम समुदायका बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर मदरसा सञ्चालनका लागि आफूले जग्गा दान गरेको उहाँले बताउनुभयो ।

एक रुपैयाँ दान अभियान शुरु

यसैबीच झापाको अर्जुनधारा–१ स्थित साधुटार गुरुकुलमा आर्थिक अभाव भएपछि सञ्चालकहरूले एक रुपैयाँ दान अभियान शुरु गरेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले पाँच वर्षसम्म दैनिक एक रुपैयाँका दरले हुने रकम दान गर्दै शनिबार अभियानको शुरुआत गर्नुभयो ।

गुरुकुलका प्राचार्य लक्ष्मीप्रसाद खतिवडाले आगामी पाँच वर्षभित्रमा एक रुपैयाँ दान अभियानबाट संस्थालाई रु ११ करोड सहयोग सङ्कलन गर्ने लक्ष्य लिइएको बताउनुभयो । इलाम जिल्लाको सिमानामा प्राकृतिकरूपमा रमणीय स्थानमा चार बिघा क्षेत्रफलमा साधुटार धार्मिक पर्यटकीय स्थल रहेको छ । शङ्कराचार्य पीठका रूपमा प्रख्यात सो स्थानमा सञ्चालित गुरुकुलमा एक सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

धार्मिक पर्यटकको दानबाट प्राप्त हुने स्रोतबाट नै गर्जो टार्दै आएको गुरुकुल कोभिड–१९ को विश्वव्यापी महामारीबाट आर्थिक सङ्कटमा फँसेपछि सहयोग सङ्कलनका लागि एक रुपैयाँ दान अभियान शुरु गरिएको गुरुकुलका प्राचार्य खतिवडाले बताउनुभयो ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - ०८:३८:२४ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology