
आँबुखैरेनी, १६ मंसिर । तनहुँको आँबुखैरेनीमा शनिबार नेपाली भाषाको गुरुङ चलचित्र “जिउनी“ सफलता पूर्वक प्रर्दशन सम्पन्न भएको छ । तनहुँ जिल्ला मैं पहिलो पटक आँबुखैरेनी गाउँपालिका–३, पानी घट्ट स्थित माई छिम्केश्वरी तमु सुधार समाजको भवनमा गुरुङ्ग संस्कार, संस्कृतिमा आधारित नेपाली भाषाको गुरुङ्ग चलचित्र “जिउनी” शनिबार एकै दिन ३ शो ( मध्याह्न १२ बजे, दिउँसो ३ बजे र साझ ६ बजे) प्रदर्शन गरिएको थियो ।
काठमाडौं, चितवन, पोखरा, बेशिसहरको अपार सफलता पछि आँबुखैरेनीमा पनि ४ सय भन्दा बढी दर्शकहरुको उपस्थितीमा चलचित्र “जिउनी” सफलतापूर्वक प्रर्दशन सम्पन्न भएको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ । चलचित्र “जिउनी” मा सामाजिक विषयवस्तुलाई मुख्य कथा बस्तु बनाइएको छ । जलकन्या फिल्मस प्रोडक्सन प्रा.लि.को व्यानरमा प्रस्तुत भएको पहिलो चलचित्र “जिउनी” समाजसेवि एवं व्यवासायी दम्पती गोठ बहादुर गुरुङ र रसमाया गुरुङले निर्माण गर्नुभएको हो ।
चलचित्रमा वरिष्ठ निर्देशक जनक गुरुङले निर्देशन र टेक बहादुर गुरुङले सहनिर्देशन गर्नुभएको छ । चलचित्र मार्मिक र सन्देश मुलक विषय बस्तुलाई उठाउने प्रयास गरिएको लेखन तथा कथाकार टेक गुरुङले बताउनुभएको छ । यस चलचित्र गुरुङ सँस्कृति मात्र नभई सिंगो नेपाली समाजमै हुने बास्तविक गतिविधिमा आधारित भएको हुँदा सबैले हेर्नु पर्ने उत्कृष्ट चलचित्र रहेको चलचित्रकी निर्माता रसमाया गुरुङ्गले बताउनुभएको छ ।
सहनिर्देशक एवं परिकल्पनाकार टेक बहादुर गुरुङले कथा लेख्नु भएको चलचित्रमा टेक गुरुङ, आकृति गुरुङ, आनन्द गुरुङ, अन्जु गुरुङ, सीता गुरुङ, कुमार सामरी घले, रबिन गुरुङ, गढुल ध्वज गुरुङ, मुना गुरुङ, माया गुरुङ, कमला गुरुङ, भविश्वर गुरुङ, नवीन गुरुङ लगायतकाले अभिनय गरेका छन ।