तनहुँ । गत असोज १० देखि १२ गते तीन दिनसम्म लगतार परेको अविरल बर्षाका कारण तनहुँमा रु.एक करोड बढीको बालीनाली क्षति भएको छ ।
बाढी पहिरोका कारण जिल्लाको आँबुखैरेनी,बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा रु.एक करोड ८ लाख ८ हजार तीन सय ७० बराबरको क्षति बनाएको हो ।
कृषि ज्ञान केन्द्र तनहुँले दिएको जानकारी अनुसार सबै भन्दा बढी क्षति जिल्लाको आँबुखैरेनी गाउँपालिका बनाएको विवरण संकलन भई कार्यालयमा पेश भएको छ ।
बाढी पहिरोले बाली नाली क्षति बनाएपछि कृषकहरु क्षतिपूर्ति पाउने आशामा रहेका छन् । ५६ रोपनी क्षेत्रफलमा लगाइएको हिउँदे मकै,धान,कोदो,तथा दलहन बाली र तरकारी बाली बर्षाले ढलाएर ५० प्रतिशत क्षति हुदाँ रु.८६ लाख ७० हजार पाँचसय ७० बराबरको नोक्सान भएको छ ।
त्यसैगरी बन्दीपुरमा साढे पाँच रोपनी धानबाली बाढी र पहिरोले शतप्रतिश क्षति हुँदा रु.१५ लाख ९१ हजार आठसय र एक रोपनीमा लगाइएको कोदो पहिरोले ५० प्रतिशत क्षति बनाउँदा रु.६० हजार नोक्सान भएको कार्यालयका बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार देवघाट गाउँपालिकामा पाँच रोपनी क्षेत्रफलमा धान बाली बाढीले शतप्रतिशत क्षति हुँदा २ लाख ४० हजारको नोक्सान भएको छ । देवघाट गाउँपालिकाको वडा नं २,३ र ५ मा करिब एक रोपनी क्षेत्रफलमा लगाइएको मकै,बोडी,मास,कोदो,काउली बाढीका कारण ९० प्रतिशत क्षति हुँदा रु.५० हजार र पहिरोका कारण एक रोपनी क्षेत्रफलमा लगाइएको बोडीको बीउ शतप्रतिशत क्षति हुँदा रु.एक लाख बराबरको नोक्सान भएको छ ।
त्यसैगरी,ऋषिङ गाउँपालिकमा सुन्तला ३० बोट पहिरोले शतप्रतिशत क्षति हुँदा ९६ हजार बराबरको नोक्सान भएको छ ।
गत कार्तिक १९ गते भानु नगरपालिकामा करिब २० रोपनी क्षेत्रफलमा बेमौसमी बर्षाका कारण काटेर सुकाइएको धान र शुक्लागण्डकीमा चार रोपनी क्षेत्रफलमा बर्षाका कारण सामान्य क्षति भएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछाने बताउनुभयो । जिल्लामा बाढी र पहिरोबाट क्षति भएका बालीनालीको विवरण संकलन गरी कृषि विकास निर्देशानालयमा पठाइएको उहाँले जानकारी दिनुभयो ।