हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले उचित क्षतिपूर्ति र सरकारी सम्बोधनको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । पीडित परिवारले संघीय सरकारले विशेष निर्णय गरेर आफूहरूका माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक जनाको शव परिवारले बुझिसकेको छ भने बाँकी १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ।
पीडित परिवार, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलगायतको उपस्थितिमा भएको छलफल निष्कर्षविहीन बनेको थियो। पीडित परिवारका माग र क्षतिपूर्तिका विषयमा आज पनि छलफल हुने प्रहरीले जनाएको छ।
बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी हाइस दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। दुर्घटनामा आफन्त गुमाएका परिवार यतिबेला शोकसँगै न्याय र उचित राहतको प्रतीक्षामा छन्। उनीहरूले सरकारबाट ठोस निर्णय नआएसम्म शव नबुझ्ने अडान कायम राखेका छन्।