Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ

तनहुँको बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ

इच्छाकामना न्युज

८, कार्तिक २०८१
तनहुँको बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ
images

तनहुँ, ८ कात्तिक पहाडकी रानी उपनामले चिनिएको तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटकले भरिभराउ भएको छ । दसैँपछि आन्तरिक तथा बाह्य पर्यटक घुम्नको लागि बन्दीपुर उक्लिएका हुन् । 

images
images

पर्यटकको भीड लागेसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । दसैँपछि बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो । अधिकांश विद्यालय तथा कलेजहरू दसैँदेखि तिहार सम्म नै बिदा दिने भएकोले विशेष गरी विद्यार्थी, शिक्षक, प्राध्यापकहरूको भीड लागेको प्रधानले बताउनुभयो । 

प्रधानले भन्नुभयो, “बिदा मनाउन दसैँपछि बन्दीपुर पर्यटकले खचाखच छ  सबै होटल भरिभराउ छ ।” यतिबेला गर्मी पनि नहुने, जाडो पनि नहुने र पानी नपर्ने मौसम भएकाले पनि  बन्दीपुरमा पर्यटक बढेको प्रधान बताउनुहुन्छ ।

आन्तरिक पर्यटकको अलवा बन्दीपुरमा विदेशी पर्यटकको पनि उत्तिकै भीड हुन्छ । नेपाल आएका अधिकांश पर्यटक एक रात बस्नका लागि बन्दीपुर आउने गरेका छन् । भारत, चीन, अमेरिका, जापान, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्यान्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्यान्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, ग्रिस  अर्जेन्टिना, डेनमार्क लगायतको देशका पर्यटक आउने गरेको समितिले जनाएको छ । 

बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार गन्तव्यबारे जानकारी नेपाली, अङ्ग्रेजी, चाइनिज, जापनिज, कोरियन, फ्रेन्चलगायतका भाषामा तयार पारिएको छ ।

बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको छ ।  पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर छ । 

बन्दीपुर तनहुँको सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिन्छन् ।

२०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा स्थानान्तरण भएपछि सुनसान बनेको बन्दीपुर पर्यटनको माध्यमबाट चहलपहल बढ्न पुगेको छ । पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले पहिलो पटक बन्दीपुरमा ‘बन्दीपुर माउन्टेन रिसोर्ट सञ्चालन ल्याएपछि पर्यटकीय क्षेत्रको रूपमा विकास हुन मद्दत पुगेको स्थानीय गोवर्धन भट्टराईले जानकारी दिनुभयो । काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रहरूको बिचमा बन्दीपुर छ । 

बन्दीपुरमा केबलकारको सञ्चालन गरिएको छ  । पर्यटकलाई थप सहज रूपमा यात्रा गर्न डुम्रे बजार नजिकै रहेको ठुलो ढुङ्गोबाट बन्दीपुर जोड्ने केबलकार सञ्चालन गरिएको हो । केबलकारले बन्दीपुरलाई थप आकर्षित बनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ८, २०८१ बिहिवार - ०७:३०:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology