तनहुँ, कार्तिक ६ — जिल्लाको व्यास नगरपालिकाले फोहरबाट आम्दानी लिन सुरु गरेको छ । फोहरजन्य बस्तु बिक्री गरी नगरपालिकाले दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।
बढ्दो बजारीकरणसँगै विभिन्न क्षेत्रलाई फोहर व्यवस्थापनमा समस्या भइरहेका बेला व्यास नगरपालिकाले फोहर बिक्री गरी २ लाख १७ हजार ४ सय ३९ रुपैयाँ आम्दानी गरेको हो ।
नगरपालिका क्षेत्रबाट संकलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न बस्तु बिक्री गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताए । ‘पानीका बोतल, आल्मुनियम, टिन, फलाम, कपीकिताब, गत्ता, टुक्रा कागज, सिसालगायत पुनःप्रगोग गर्न मिल्ने वस्तु बिक्री गरिएको हो,’ उनले भने ।
यस्तै, करिब एक लाख रुपैयाँ बराबरको फोहर बिक्रीका लागि तयारी अवस्थामा रहेको वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरेले बताए । ‘एलडी, एचएम, पीपी, गुडियालगायत सामान बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘यी सामग्रीहरू पनि तिहारअगावै बिक्री गर्ने योजना छ ।’
नगरपालिकाले गत भदौ ८ गतेदेखि फोहरको सूक्ष्म वर्गीकरण थालनी गरेको थियो । गत साउनदेखि सिसा उठाउन सुरु गरी भदौबाट सिसा बिक्री गर्न थालिएको उनले बताए ।