आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ५ र चितवनको भरतपुर महानगरपालिका २९ जोड्ने झोलुङ्गे पुल आँबुखैरेनी गाउँपालिकाले मर्मत गर्ने भएको छ । गत असोज ११ र १२ गते त्रिशुली नदीमा आएको बाढीले घुमाउनेमा रहेको उक्त पुल क्षतिग्रस्त बनाएको थियो । सोही पुलको आज शुक्रबार गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमान र गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अनुगमन गर्दे क्षतिग्रस्त पुल गाउँपालिकाले नै मर्मत गर्ने भएको हो।
अनुगमनको क्रममा प्राविधिकको समेत सहभागिता रहेको थियो । दसैका बेला पुलबाट आवतजानत गर्ने सर्वसाधारणलाई सास्ती भएपछि पालिकाले तत्कालै मर्मत गरी सहज रुपमा आवतजावतको व्यवस्था मिलाउने अध्यक्ष चुमानले बताए ।
सोही ठाउँ नजिक पक्की पूल निर्माण थालिएपनि दश वर्षदेखि उक्त पुलको जम्मा प्रगति ४० प्रतिशत मात्रै छ । घुमाउनेका सर्वसाधारण झोलुंगे पुल प्रयोग गरी मुग्लिन नारायणगढ खण्डमा निस्कने गर्छन् ।