Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

मुग्लिन–नागढुंगा खण्डमा पहिरोको त्रासैत्रास, गाडीको चापले जामैजाम

मुग्लिन–नागढुंगा खण्डमा पहिरोको त्रासैत्रास, गाडीको चापले जामैजाम

images

पत्रपत्रिका

१७, आश्विन २०८१
मुग्लिन–नागढुंगा खण्डमा पहिरोको त्रासैत्रास, गाडीको चापले जामैजाम
images

धादिङ । धादिङको झ्याप्ले खोलामा शनिबार बिहान खसेको पहिरोले दुई वटा माइक्रोबस र एउटा बस पुरेको थियो । उक्त दुर्घटनामा ३५ यात्रुको मृत्यु भयो । अहिले यस खण्डको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । यही सडक भएर मुग्लिनतर्फ अघि बढ्दा जताततै पहिरो खसेको भेटिन्छ । नागढुंगादेखि मलेखुसम्म सानाठूला ५ सयभन्दा बढी स्थानमा पहिरो छ । यात्रुहरु पहिरोको त्रासैत्रासमा यात्रा गर्न बाध्य छन् ।

सवारी आवागमन खुलाउने गरी सडकको पहिरो पन्छाइएको छ । कतिपय ठाउँमा पहिरो पूरै नपन्छाइएकाले सडक साँघुरिएको छ । नागढुंगा सुरुङको मुखनेर पुगेपछि भने पहिरोका कारण सहजै दुईतर्फी सवारीसाधन गुडाउन कष्ट छ । कतै लेदो माटोले सडक ढाकेको छ, कतै धूलैधूलो छ । पक्की पुलहरूमै दुईतर्फी यातायात सञ्चालनमा समस्या छ । नागढुंगादेखि मुग्लिनसम्मै सडक अस्तव्यस्त छ ।

सडकमा ट्राफिक जामको सास्ती उस्तै छ । गाडीको जाम दुई किमीभन्दा लामो हुने गरेको छ । कतै सडकको लेन मिचेर चलाइनाले त कतै बीचैमा बिग्रिने सवारीसाधनले ट्राफिक जाम थपेको छ । जामले चालक र यात्रु हैरान देखिन्छन् । कुन बेला कहाँ जाम हुने हो, पत्तो हुँदैन ।

नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड भासिएपछि वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौं आउनुपरेको दाङका चालक हेमराज उप्रेतीले सुनाए । ‘दाउन्नेको बाटो बन्द भएपछि स्याङ्जा, पोखरा हुँदै यात्रु बोकेर आएको हुँ,’ लप्सीखोला, धादिङमा मंगलबार साँझ सवा ५ बजे भेटिएका उनले भने ।

गत बिहीबार साँझदेखि नागढुंगा–मुग्लिन खण्डमा ट्राफिक जाम नभएको दिन छैन । लप्सीखोलाका होटल व्यवसायी शिव दुवाडीका अनुसार केही दिनअघि पोखराबाट हिँडेको गाडी दुई दिनमा आइपुगेको थियो । ‘अझै सडक राम्रोसँग खुलिसकेको छैन,’ उनले भने । स्तरोन्नतिका नाममा जथाभावी सडक भत्काइएपछि पहिरो खस्ने र ट्राफिक जाम हुने समस्या बढेको दुवाडीले बताए । बाढीपहिरोका कारण बीपी राजमार्ग, भीमफेदी–सिस्नेरी–दक्षिणकाली, कान्ति राजमार्ग बन्द भएपछि नागढुंगा–मुग्लिन सडकमा सवारी चाप बढेको छ । दिनमा २० हजारभन्दा बढी सवारीसाधन यो खण्ड भएर ओहोरदोहोर गर्छन् । मालवाहक, कन्टेनर, ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन पनि यही खण्ड भएर उपत्यका भित्रिन्छन् ।

सवारी चाप उच्च भए पनि त्यसअनुसार सडक पूर्वाधारमा सरकारले ध्यान दिन सकेको छैन । काठमाडौं पुग्न सडक यात्रा सधैं सास्तीपूर्ण हुने गरेको सल्यानबाट काठमाडौं आएका विशाल केसीले बताए । ‘सदरमुकामबाट मंगलबार दिउँसो ३ बजे हिँडेको गाडी बल्ल (बुधबार बिहान १० बजे) फिस्लिङको पहिरोमा आइपुगेको छ,’ उनले भने, ‘सडकको समस्या नभए यतिबेलासम्म काठमाडौं पुगिसकिन्थ्यो ।’ उनका अनुसार गाडी नारायणगढ–बुटवल सडकखण्डको दाउन्नेमा मंगलबार राति २ बजे नै आइपुगेको थियो तर बाटो बिहान ५ बजे मात्र खुल्यो । ‘हिजोआज कहिल्यै समयमा काठमाडौं पुग्न सकिएको छैन,’ उनले भने, ‘सधैं कष्टको यात्रा छ ।’ झ्याप्ले खोलाको पहिरोमा परी मृत्यु भएका २७ वर्षीय सुकबहादुर गुरुङको शव उनको गाउँ गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पुर्‍याउन झन्डै १३ घण्टा लाग्यो । कान्तिपुर दैनिकबाट

images
प्रकाशित मिति :आश्विन १७, २०८१ बिहिवार - ०९:३२:१४ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology