Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

गण्डकीमा तीव्र बन्दै डेंगु सङ्क्रमण, जोगिने कसरी ?

गण्डकीमा तीव्र बन्दै डेंगु सङ्क्रमण, जोगिने कसरी ?

images

इच्छाकामना न्युज

२५, भाद्र २०८१
गण्डकीमा तीव्र बन्दै डेंगु सङ्क्रमण, जोगिने कसरी ?
images

गण्डकी । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन्।

सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ।

धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताए। डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उनको भनाइ छ।

डेङ्गु भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले बताए।

गर्भवती र बालबालिकामा डेङ्गुको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तनसक्ने उनको भनाइ छ।

डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनले बताए। डेङ्गुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने प्रमुख चिकित्सक प्रधानले बताएका छन्।

हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयको तथ्याङ्कअनुसार गत पुसयता पाँच हजारभन्दा बढीमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ। डेङ्गु सङ्क्रमणबाट कास्कीमा दुई र तनहुँमा एक जनाको मृत्यु भएको छ। तनहुँ, कास्कीलगायत जिल्ला डेङ्गु सङ्क्रमणबाट बढी प्रभावित छन्।

पछिल्लो तीन महिनामा डेङ्गु सङ्क्रमणको दरलाई हेर्दा आगामी दिनमा सङ्क्रमणको जोखिम थप तीव्र हुने देखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले बताए। उनका अनुसार असारदेखि कात्तिकसम्म डेङ्गुको सङ्क्रमण बढी फैलने गर्छ।

डेङ्गु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ।

सङ्क्रमण बढ्दै जान थालेपछि स्वास्थ्य मन्त्रालय, मातहतका स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत निकायले लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन्। डेङ्गु फैलाउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’अभियान सञ्चालन गरिएको हो।

images
प्रकाशित मिति :भाद्र २५, २०८१ मंगलवार - ०८:०८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology