Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

थारू समुदायको अटवारी पर्व दिदीबहिनीका लागि व्रत बसेर मनाइँदै

थारू समुदायको अटवारी पर्व दिदीबहिनीका लागि व्रत बसेर मनाइँदै

रासस

२३, भाद्र २०८१
थारू समुदायको अटवारी पर्व दिदीबहिनीका लागि व्रत बसेर मनाइँदै
images

घोडाघोडी (कैलाली) । पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ । यो पर्व आइतबार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । 

images
images

महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको घोडाघोडी नगरपालिकाका प्रमुख भलमन्सा बुधराम चौधरीले जानकारी दिए । 

अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतबारका दिन मनाइन्छ । नगरप्रमुख चौधरीका अनुसार अटवारी विशेषगरी दुई दिन मनाउने गरिन्छ । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ । अटवारीको तयारी शनिबारसम्ममा पूरा हुनुपर्ने थारू अगुवा पञ्चराम चौधरी बताउछन् । शनिबारको राति भिन्सर्या (दर भात) खाने चलन छ ।

आइतबार पहिलो दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने गरिन्छ भने दोस्रो दिन बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइन्छ । व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् ।

अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको थारु अगुवा चौधरीले बताए । दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दार्शाउने विशेष अवसर नै अटवारी हो । अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि ‘अटवारी’लाई लिइने गरेको उनले बताए । 

images
प्रकाशित मिति :भाद्र २३, २०८१ आइतवार - ०९:२८:३५ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology