चीनकी लोकप्रिय गायिका तथा अभिनेत्री गाओ लियुले आफुसंग भएको त्रासदीपूर्ण घटना हालै सार्वजनिक गरेकी छिन । २४ बर्षीया लियुले आफ्नो नाकको प्लास्टिक सर्जरी गराएकी थिइन । तर त्यसबाट उत्पन्न परिणामले उनलाई ठूलो समस्यामा पार्यो ।
उनले आफ्नो यस्तो दुखेसो चीनमा अत्यधिक लोकप्रिय रहेको ट्विटर जस्तै सामाजिक सञ्जाल वाईबोमा आफ्ना तस्विरसहित सार्वजनिक गरेकी हुन । यो एकाउन्टमा उनका ५ मिलियन भन्दा बढी फलोअरहरु छन ।
थुप्रै फिल्म तथा टीभी शोहरुमा काम गरिसकेकी लियुले ग्वाङ्झाओ शहरस्थित एक क्लीनिकमा आफ्नो नाकको सर्जरी गराएकी थिइन । त्यो प्लास्टिक सर्जरी करिब ४ घण्टा चलेको थियो । तर यो सर्जरीले उनलाई ठूलो समस्यामा पार्छ भन्ने कुरा लियुलाई थाहा थिएन ।
खासगरि आफ्नो अनुहारलाई अधिक सुन्दर बनाउन भन्दै लियुले नाकको प्लास्टिक सर्जरी गराएकी थिइन । तर सोचे जस्तो भएन । सर्जरीपछि उनको नाकमा इन्फेक्सन भयो । जसले उनलाई झनै दुख दियो ।
आफ्नो नाक केही नमिलोको जस्तो उनलाई लागेको थियो । यदी नाकलाई ठिक ठाक बनाउन सकियो भने आफ्नो अनुहार झनै सुन्दर देखिने सोंचका साथ उनले नाकको प्लास्टिक सर्जरी गराएकी थिइन ।
धरै भन्दा धेरै फिल्ममा काम गर्न पाइयोस भन्ने उनको इच्छाले यो समस्यासम्म पुर्याएको हो । सर्जरीपछि नाकमा देखिएको समस्यालाई निको पार्न उनले धेरै पटक फलोअप सर्जरी गर्नु पर्यो । त्यस क्रममा उनको नाकमा नेक्रोसिस भनिने समस्या थपिएको छ । जसको परिणामस्वरुप लियुको नाकको टुप्पो झट्ट हेर्दा निकै नराम्रो देखिन्छ ।
नाकको अप्रेशन गरिएको क्लिनिक उपयुक्त नभएको लियुले पछि मात्रै थाहा पाइन । यही कारणले उनी २ महिनासम्म अस्पतालमा बस्नु पर्यो । यस क्रममा लियुले ४५ हजार पाउण्ड खर्च गर्नुपर्यो । लामो समय अस्पतालमा विताउनु पर्दा लियुले झण्डै २ लाख पाउण्ड बराबरको काम समेत गुमाउनु पर्यो ।
अहिले अभिनत्री गाओ लियुले आफ्नो नाकको अप्रेसन गरिएको क्लिनिकबाट क्षतिपूर्ति पाउनका लागि संघर्ष गरिरहेकी छिन । चीनमा पछिल्लो समय प्लास्टिक सर्जरीको लोकप्रियता ह्वात्तै बढेको छ । एक तथ्यांक अनुसार अघिल्लो बर्ष झण्डै डेढ करोड मानिसले प्लास्टिक सर्जरी गराएको बिबिसीले जनाएको छ ।