Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

असुरक्षित तवरले गरिएको ट्राफिक जाँचले गठ्ठाघरमा वीभत्स दुर्घटना भएको हो?

असुरक्षित तवरले गरिएको ट्राफिक जाँचले गठ्ठाघरमा वीभत्स दुर्घटना भएको हो?

इच्छाकामना न्युज

३२, श्रावण २०८१
असुरक्षित तवरले गरिएको ट्राफिक जाँचले गठ्ठाघरमा वीभत्स दुर्घटना भएको हो?
images

काठमाडौं । भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

images
images

बिहीबार दिउँसो ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमी वृत्तको जिम्मा लगाएको छ।

स्थानीयले ट्राफिक प्रहरीले असुरक्षित तवरले सवारी जाँच गर्दा दुर्घटना भएको आरोप लगाएका छन्। स्थानीय प्रत्यक्षदर्शीको दाबीअनुसार ट्राफिक जाँचका क्रममा रोकिएको स्कुटरलाई कौशलटारतर्फबाट थिमीतर्फ गइरहेको ट्रकले ठक्कर दिएर करिब पचास मिटर परसम्म घिसारेको थियो।

दुर्घटनापछि बिहीबार दिउँसो भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प थियो। घटनास्थलमा जम्मा भएको आक्रोशित भीडले ट्रकमा ढुङ्गामुढा गरेर आगजनी प्रयास गरे पनि प्रहरीले सामान्य बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले विरोध प्रदर्शनलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो। दुर्घटनापछि स्थानीयले विरोध प्रदर्शन गरेकाले केही घण्टापछि मात्र प्रहरीले मृतकको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याउन पाएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी जीवन श्रेष्ठले पनि प्रत्यक्षदर्शीले दाबी गरेअनुसार ट्राफिक चेकिङका क्रममा दुर्घटना नभएको बताए। ‘त्यहाँ खटिएका ट्राफिक प्रहरीसँग प्रारम्भिक सोधपुछमा हामीले त्यस्तो पाएको छैनौँ,’ उनले भने, ‘दुवै सवारिसाधन एकैतर्फ गइरहेकाले कुन सवारीको गल्ती के थियो भनेर अनुसन्धान हुँदै छ।’

ट्राफिक प्रहरीले जथाभावी चेक प्वाइन्ट राखेर चेकिङ गरेकैले घटना भएको भनेर सामाजिक सञ्जालदेखि घटनास्थलसम्म आलोचना भइरहेको सन्दर्भमा त्यसमा सत्यता नभएको एसएसपी श्रेष्ठले बताए। ‘ट्राफिक प्रहरीले गर्ने चेकिङमा सुधार गर्नुपर्ने ठाउँ होला, तर यो घटनामा जोड्नु उचित हुँदैन,’ उनले भने, ‘काठमाडौं उपत्यकामा सडकको अवस्था, सवारीसाधनको सङ्ख्या, ट्राफिक सङ्केत र बत्तीहरूको दुर्दशा सबैले देखेकै छौँ। त्यससँगै यात्रु र सवारी चालक दुवै ट्राफिक नियमलाई लिएर जागरुक छैनन्, भए पनि हेलचेक्र्याइँ गर्छन्। त्यसैले दुर्घटना हुन्छ। चेकिङले दुर्घटना भयो भन्नु ठीक हुन्न।’

उनले ट्राफिक प्रहरीले सडकमा जथाभावी चेकिङ गर्दा आफू पनि असुरक्षित हुनुका साथै सवारी चालक र यात्रु पनि असुरक्षा हुने विषयमा आफूहरू सचेत रहेको बताए। ट्राफिक प्रहरीले असुरक्षित रूपमा चेकिङ गरेको विषयमा गुनासो आए छानबिन गरिने पनि बताए ।

‘कहिले ओभरस्पिड, कहिले लागूपदार्थ सेवन गरेर त कहिले लापरबाहीपूर्वक सवारिसाधन चलाउनेलाई कारबाही गर्न हामीले केही स्थानमा नियमित र केही स्थानमा छड्के चेकिङ गर्छौं, त्यसले सवारी आवागमन असहज हुनु हुँदैन,’ उनले भने, ‘यही घटनाका कारण आएका सुझावलाई पनि हामीले गम्भीरतापूर्वक लिएर सुधार गर्छौं।’

images
प्रकाशित मिति :श्रावण ३२, २०८१ शुक्रवार - ०७:३५:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology